Banner news

भद्रपुरमा ‘गोरुको मासु’ खाएको भिडियोमा प्रहरीले थाल्यो अनुसन्धान

भद्रपुरमा ‘गोरुको मासु’ खाएको भिडियोमा प्रहरीले थाल्यो अनुसन्धान


बिर्तामोड । झापाको भद्रपुरमा सामुहिक रुपमा गोरुको मासु खाएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गरिएको छ । यसअघि धरानमा गोरुको मासु खाएको निहुँमा हिन्दुबादीहरुले विरोध जनाएका थिए ।

गोरुको मासु खाई सांस्कृतिक क्रान्ति गरेको भन्दै सामाजिक सञ्जालहरुमा भिडियो सार्वजनिक गरिएको भेटिएको छ । प्राप्त सूचना अनुसार उक्त भिडियो भद्रपुर -४ रंगेडाँडाको हो । पाँच जिल्लामा एकै समय सांस्कृतिक क्रान्ति गरेको सन्देश भिडियोमा लेखिएको छ ।

धरानको सोही प्रकृतिको कार्यलाई समर्थन गर्दै सामुहिक गोरुको मासु खाने कार्यक्रमको आयोजना गरिएको बताइएको छ । सञ्जालमा विकिन काम्वाङ नाम गरेको फेसबुक आइडीबाट भिडियो पोष्ट गरिएको फेला परेको छ । काम्वाङका अनुसार जिल्लाका विभिन्न ठाउँबाट ७०-८० जना सहभागी भई सामुहिक रुपमा मासु खाएको हो । उनले भद्रपुरमै गोरु काटेर खाएको स्वीकार गरे । उनले मासु खान पाउनु आफुहरुको अधिकार भएको बताएका छन् । खान मिल्दैन भने, बेच्न पनि मिल्दैन, उनले भने – हामीले सकैमाथि गालीगलौच, धर्मप्रति गलत अभिव्यक्ति दिएका छैनौं ।

झापा प्रहरीले उक्त भिडियो सार्वजनिक भएपछि घटनाबारे अनुसन्धान सुरु गरिसकेको जनाएको छ । भिडियो बारे थप अनुसन्धान गर्न साइवर व्यूरोमा पठाइएको झापा प्रहरीले जनाएको छ । भिडियोको सत्यता र पहिलो पोष्ट गर्नेको पहिचान गर्ने काम भइरहेको प्रहरीको भनाई छ । भारतबाट मासु ल्याएर भद्रपुरमा खाएको भन्ने सूचना छ, ति प्रहरी अधिकारीले भने – ‘भिडियोमा प्रपोगण्डा गरेको देखिन्छ । थप प्रपोगण्डा नहोस् भन्नेमा सचेत रहेछौं ।’

शेयर गर्नुहोस :

0
Shares