काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएपछि छुटेका नेपालगन्जका चर्चित गुन्डा नाइके रिगल उर्फ योगराज ढकालले पार्टी नेतृत्वबाट आफूहरूलाई युजमात्रै गरेको आरोप लगाएका छन् ।

व्यक्ति हत्याको दोषी ठहर भई सर्वस्वसहित अदालतबाट जन्मकैदको सजाय पाएका ढकाल कांग्रेसकै दबाबमा संविधान दिवसको अवसरमा आममाफी पाएपछि अब तरुण दललाई बलियो बनाउने लाग्ने बताए ।
जेलबाट रिहा भएपछि दाङदेखि नेपालगन्जसम्म गाडीका लावालस्करसहित कांग्रेस कार्यकर्ताले स्कर्टिङ गरेर लगेपछिको सभामा बोल्दै उनले भने, ‘हामीलाई चाहिँ सुरुमा सबैले आश देखाउने, युज गर्ने र पछिचाहिँ परेको बेलामा साथ नदिएर हामीले पनि भोगेर आएका यत्रो वर्ष काट्यौं ।’
रिगलले अब युवाहरुले नै आफैमध्येबाट छानेर एकजनालाई अगाडि बढाउनुपर्ने बताए । उनले अब तरुण दललाई बलियो बनाउनको लागि केन्द्रसम्म पनि कहाँ कसलाई के भन्नुपर्ने के गर्नुपर्ने आफू तयार रहेको बताएका छन् ।
जेल जानुअघि नेपाली कांग्रेस निकट तरुण दलका क्षेत्रीय सभापतिसमेत रहेका ढकाललाई कैद सजायको ५० प्रतिशत भुक्तान नहुँदै राष्ट्रपतिबाट आममाफी पाएका हुन् ।
सर्वस्वसहित जन्मकैद सजाय पाए ढकाललाई ४० प्रतिशत मात्र सजाय काटेपछि माफी दिन जिल्ला कारागारबाटै सिफारिस गराइएको थियो ।
२०७२ साल असार २८ गते नेपालगन्जको व्यस्त बजार धम्बोझीचोक नजिकै दिनदहाडै खुँडा प्रहार गरी २९ वर्षीय चेतन मानन्धरको हत्या गरेको अभियोगमा ढकाललाई सर्वस्वसहित जन्मकैदको फैसला भएको थियो ।
ढकाललाई आममाफी दिएपछि राष्ट्रपति पौडेलको चर्को आलोचना भइरहेको छ । यो विषयमा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि पार्टीको बैठकमा असन्तुष्टि राखेका थिए ।







प्रतिक्रिया