बिर्तामोड । एमाले नेता महेश बस्नेत र राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवेलाई रोक्न नसकेपछि पहिचानवादीसहित दुर्गा प्रसाईका समर्थकहरुले दर्जनौं गाडि, मोटरसाइकलमा तोडफोड गरेका छन् । प्रहरीले तोडफोडमा संलग्न प्रसाईका समर्थकलाई नियन्त्रणमा लिइसकेको छ ।

आज एमालेको राष्ट्रिय युवा संघ अर्जुनधाराको प्रथम अधिवेशनमा एमाले नेताहरु बस्नेत, थेवेहरु शनिश्चरे आएका थिए । उनीहरुलाई कार्यक्रमसम्म पुग्नै नदिने पहिचानवादी र प्रसाई समर्थक कार्यकर्ताहरुको तयारी थियो । पूर्वमन्त्री समेत रहेका बस्नेतलाई प्रहरीले कडा सुरक्षाका बीच कार्यक्रम स्थल पुराएपछि भड्किएको विरोधी समूहले युवा संघका नेता कार्यकर्ताको गाडिमा ढुङ्गा प्रहार गर्दै तोडफोड गरेका हुन् । तोडफोडबाट दुई दर्जन सवारीमा क्षति पुगेको युवा संघका केन्द्रिय सदस्य राज आङ्देम्वेले जानकारी दिए । गाडिमा तोडफोड गर्ने काम दुर्गा प्रसाईको निर्देशनमा उनका समर्थकहरुले गरेको बताए । उनका अनुसार घटनास्थलमा हतियार समेत फेला परेको छ ।
एमाले नेता बस्नेतले अधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्न थालेपछि पार्किङमा राखिएका गाडिमा तोडफोड गर्दै अवरोध गर्न आउनेहरु भागेको प्रत्यक्षदर्शीहरुको भनाई छ ।

कार्यक्रम सुरु हुनुअघि शनिश्चरे चोकमा पहिचानवादीको भेला थियो । सो भेलामा दुर्गा प्रसाईँका कार्यकर्ता समेत मिसिएर थिए । नेताहरु अर्जुनधारा प्रवेश गरेको थाहा पाएपछि पहिचानवादी र प्रसाई समर्थक सँगसँगै शनिश्चरे स्कुलसम्म जवरजस्त पुगेका थिए । सुरक्षाकर्मीले उनीहरुलाई स्कुल अघि नै रोकेर एमाले नेताहरुलाई पास गराएका थिए ।
नेताहरु कार्यक्रमतर्फ लागेपछि उत्तेजित भीड छरिएको थियो । कार्यक्रमस्थलमा सबैतिरबाट प्रहरीले घेरा हानेपछि आन्दोलनरत पक्षले गाडिमा तोडफोड गरेको युवा संघका नेताहरुले प्रतिक्रिया दिए । पहिचानवादीले शान्तिपूर्ण आन्दोलन गर्ने जनाए पनि आजको तोडफोडको घटनाले अराजकता निम्त्याउने काम गरेको नेताहरुले प्रतिक्रिया दिएका छन् ।
नेकपा एमाले झापाले घटनाको भत्सर्ना गर्दै दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको लागि माग गरेको छ । गाडी फुटाउने समूहको अगुवाइ गर्ने दुर्गा प्रसाईँनिकट विक्रम सुब्बा अस्पतालभित्र क्यान्टिन सञ्चालन गर्दै आएको बुझिएको छ । सुब्बा प्रसाईको समर्थनमा प्रदर्शन समेत गर्दै आइरहेको बुझिएको छ ।







प्रतिक्रिया