मुख्य समाचार

हरेक स्थानीय तहले ब्रेललिपी किताव छाप्नुपर्ने माग

हरेक स्थानीय तहले ब्रेललिपी किताव छाप्नुपर्ने माग


मेचीनगर । सरकारले पूर्ण दृष्टिविहिनका लागि ब्रेललिपी किताव पर्याप्त रुपमा नछापेका कारण आफुहरु समस्यामा परेको भन्दैं सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । हरेक स्थानीय तहले ब्रेललिपी किताव छाप्न उनीहरुले माग गरेका छन् ।

सन् २०२०-०२१ को तथ्याङ्क अनुसार नेपालमा २ हजार २ सय ४४ जना पूर्ण दृष्टिविहिन र ५ हजार ५ सय ५७ जना न्यून दृष्टियुक्त विद्यार्थीहरु भएपनि नेपाल सरकारले प्रत्येक वर्ष पूर्ण दृष्टिविहिनका लागि मात्र ब्रेललिपी किताव छाप्ने गरेका कारण समस्या भएको छ ।

नेत्रहीन युवा संघ नेपाल झापा शाखाका अनुसार सरकारले पूर्ण दृष्टिविहिनका लागि मात्र ब्रेललिपी किताव छाप्ने गरेको भएपनि कम छापेका कारण झनै मारमा पर्ने गरेका छन् । ‘यस वर्षमात्र ९ सय ६० सेट ब्रेललिपी किताव, विद्यार्थी भने २ हजार २ सय ४४ जना’ संघका झापा शाखा अध्यक्ष दिलकुमार राजवंशीले भने, – ‘हालसम्म जतिसुकै वकालत गरेपनि न्यून दृष्टियुक्त व्यक्तिहरुका लागि ठूलो छापामा किताब प्रकाशन भएको छैन । स्थानीय तहबाट केही शुरुवात गर्न पाए राम्रो हुने थियो ।’ विगतका वर्षहरुमा नेत्रहीन युवा संघ नेपाल झापा शाखाले शिक्षातर्फ गरेका विभिन्न वकालत तथा पैरवीका कार्यक्रमले केही स्थानीय तहहरुमा संघका मागहरुलाई प्राथमिकता दिएको राजवंशीले जानकारी दिए ।

विद्यालय उमेरका अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क संकलन गरी उनीहरुको आवश्यकता व्यवस्था र अवस्था हेरेर विशेष विद्यालय पढाउनुपर्ने भए विशेष विद्यालय पढाउन र पढाउन नपर्ने भए सम्बन्धित पालिकाकै विद्यालयमा अपाङ्गता मैत्री वातावरणमा अध्ययनको व्यवस्था मिलाउनुपर्ने संघका अध्यक्ष राजवंशीको भनाई छ । संघले झापाका १५ वटै पालिकामा यी र यस्तै माग राखेर ध्यानाकर्षण पत्र बुझाएको छ ।

संघले सोमबार झापाको मेचीनगर नगरपालिकामा १६ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदैं हाल अपाङ्गता भएका व्यक्तिहरुले परीक्षा दिदाँ १०० पूर्णाङ्कको परीक्षामा थप एक घण्टा र ५० पूर्णाङ्कको परीक्षामा थप आधा घण्टा समय उपलब्ध गराउँदैं आएकाले परीक्षार्थीहरुलाई प्रश्नपत्र बारे परीक्षा शुरु हुनुभन्दा अघि नै जानकारी गराउनुपर्ने माग गरेको छ ।

पाङ्गता भएका व्यक्ति अनूकुल कम्प्यूटर, क्यामरा, स्क्यानर जस्ता विशेष प्रकृतिका आधूनिक उपकरणहरु व्यवस्था गर्नुपर्ने, विद्यालयमा रहेका पुस्तकालय र पुस्तकालयमा उपलब्ध सामग्री अपाङ्गता मैत्री हुनुपर्ने, विद्यालयको खेल मैदान कक्षा कोठा प्रधानध्यापकको कोठा शिक्षकहरुको कोठा, शौचालय खानेपानी पुस्तकालय आदि स्थलहरु अपाङ्गता मैत्री साथै स्पष्ट व्यवस्था हुनुपर्ने लगायतका माग संघले ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ ।

संघका अध्यक्ष राजवंशीसहितको टोलीले मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीलाई बुझाएको ध्यानाकर्षण पत्रमा अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक शैक्षिक सामग्रीका लागि बजेट छुट्टयाई शैक्षिक सामग्री प्रदान गर्नुपर्ने, अपाङ्गता भएका व्यक्तिहरुका अभिभावकलाई उनीहरुको शिक्षाप्रति अभिप्रेरित गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्ने, अपाङ्गता भएका विद्यार्थीहरुको तथ्याङ्क प्रत्येक वर्ष स्पष्टरुपमा अध्यवधिक गर्नुपर्ने, पालिकाभित्रको कुनै एउटा विद्यालयलाई अपाङ्गता मैत्री विद्यालयका रुपमा रुपान्तरण गरी विशेष विद्यालय जानुपर्ने वाहेकका अपाङ्गता भएका व्यक्तिहरुको लागि आवश्यक वा व्हिलचियर जान सक्ने बैशाखी कक्षाकोठा लगायत अन्य पूर्वाधारको व्यवस्था गर्नुपर्ने माग समेटिएको छ ।

१६ बुँदै मागसहितको ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख बुढाथोकीले मागप्रति नगरपालिका सकरात्मक रहेको र नगरस्तरीय शिक्षा शाखासँग छलफल गरी मागलाई सम्बोधन गर्ने प्रतिवद्घता व्यक्त गरेका छन् । नेत्रहीन युवा संघ नेपाल देशभरी सञ्जाल बनाई अपाङ्गता भएका व्यक्तिहरुको शिक्षा, स्वास्थ्य, स्वरोजगार, राजनीति, सहभागिता, पहुँचयुक्त निर्वाचन प्रणालीको विकाशलगायतका क्षेत्रमा विभिन्न कार्यक्रम गरिरहेको अधिकारमुखी गैरसरकारी संस्था हो ।

शेयर गर्नुहोस :

0
Shares