बिर्तामोड । आज झापामा अत्यधिक वर्षा मापन भएको छ । झापामा गए रातिदेखिको अविरल वर्षा भइरहेको छ । निरन्तरको वर्षाले नदी तथा खोलामा पानीको जलसतह बढ्न थालेको छ । अत्यधिक वर्षा भएपछि स्थानीय प्रशासन सम्भावित क्षति हुनबाट बचाउन तयारी अवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले बताउनुभयो ।
उहाँका अनुसार नदी, खोला किनार तथा डुबान हुने स्थानमा निगरानी तथा सतर्कता अपनाइएको छ । “पानी निरन्तर परिरहेको छ”, उहाँले भन्नुभयो, “कन्काई, विरिङ, रतुवा, मेचीलगायतका नदीमा पानीको सतह बढदै गएको छ ।”
वडादेखि पालिकासम्मका जनप्रतिनिधि नेतृत्वको विपत् प्रतिकार्य टोलीसमेत तयारी अवस्थामा रहेको सहायक प्रजिअ नेपालले बताउनुभयो ।

यसैबीच कचनकवल गाउँपालिका–२ स्थित अमरखुट्टा खोला तर्ने क्रममा आज दिउँसो प्र १–०२–००५ प ६९७८ नम्बर प्लेट भएको मोटरसाइकल खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार मोटरसाइकल चालक सोही ठाउँ बस्ने वर्ष २७ का रवीन भट्टराई भने सकुशल छन् ।
वर्षाले उडान अवरुद्ध
झापाको चन्द्रगढी विमानस्थलमा गए रातिदेखिको अविरल वर्षाका कारण हवाई उडान प्रभावित भएको छ । आज कुनै पनि उडान तथा अवतरण नभएको विमानस्थलका सूचना अधिकारी वीरेन्द्र भट्टराईले जानकारी दिनुभयो । आज दिउँसो केही समयका लागि विमानस्थल खुले पनि फेरि बन्द भएको उहाँले बताउनुभयो । विमानस्थल मौसम विभागका अनुसार पछिल्लो २४ घण्टामा विमानस्थलमा तीन सय दुई दशमलव ४ मिलिमिटर वर्षा भएको छ ।
खोलाले बालिका बगायो
आज दिउँसो साढे ३ बजे कचनकवल गाउँपालिका वडा नम्बर १ स्थित चमरभित्ताबाट झकुवा टोल आउदै गरेको पन्चु राजवंशीको छोरी बर्ष अन्दाजी १४ की नेहारिका राजवंशीलाई जमुवा खोलाको कज्वेबाट खोलाले बगाई लगेको छ । प्रहरी चौकी घेराबारीमा जानकारी गराउन साथ प्रहरी चौकी घेराबारीबाट प्रहरी र सप्रबल नेपालको टोली खटी गई खोजतलास कार्य भई रहेको झापा प्रहरीले जनाएको छ ।
बिरिङ पुलमा क्षति
अर्जुनधारा नगरपालिका वडा न. ७ स्थित बिरिङ खोलामा रहेको खुदुनाबारी–शनिश्वरे जोड्ने मोटरेवल पुल अविरल बर्षा संगै आएको बाढीले क्षति पु¥याएको छ । प्रहरी चौकी शनिश्चरेमा जानकारी प्राप्त हुन साथ प्रहरी टोली खटि गई अर्जुनधारा नगरपालिकासँग समन्वय गरी उक्त पुलबाट मानिस तथा सवारी साधन आवागमन बन्द गराई वैकल्पिक मार्ग अर्जुनधारा नगरपालिका ७ स्थितमा रहेको फुलमति पुलबाट मिलडाँडाको बाटो हुदै सवारी साधनहरु आवागमन भई रहेको बताइएको छ ।
माछा मार्ने क्रममा बेपता
झापा कमल गाउँपालिका वडा न. १ बस्ने मुसे भन्ने रमेश चौधरीको छोरा बर्ष ३५ को टिकाराम चौधरी कमल गाउँपालिका १ स्थितमा रहेको कृष्ने खोलामा माछा मार्ने क्रममा खोलामा डुबि हराई बेपता भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गौरादहमा जानकारी गराउन साथ इलाका प्रहरी कार्यालय गौरादहबाट प्रहरी टोली खटि गई बेपता भएको मानिस हालसम्म फेला नपरेको बताइएको छ । खोजी कार्य भइरहेको छ ।
पुल भाँचियो
जिल्ला झापा कचनकवल गाउँपालिका वडा नं. १ कुट्टी बजार देखी पुर्व सोमबारे बजार भेलामुनी टोल जाने अदुवा खोलामा रहेको काठको पुल अविरल वर्षाको कारणले पानीको बहाब बढेर बाढी आई उक्त बाटोको काठको पुल आधी भाग भाँचिएको र मानिसको आवतजावत अबरुद्ध रहेको बताइएको छ ।
कुखुरा फर्ममा क्षति
बाह्रदर्शी गाउँपालिका वडा नम्बर ७ स्थित रहेको ज्ञान बहादुर कार्कीको नाममा रहेको बाह्रदर्शी बहुउद्देश्यीय कृषि फर्ममा अविरल बर्षाका कारण सुरुङगा खोलाको पानीको बाहब बढेर कुखुराखोर भित्र पानी पसि क्षती भएको छ । इलाका प्रहरी कार्यालय घैलाडुब्बामा जानकारी प्राप्त हुन साथ प्रहरी टोली खटी गई बुझ्दा उक्त फर्ममा रहेको १६०० कुखुरा मध्ये १२०० वटा कुखुरा डुबि मरेको र कुखुराको दाना लगायत अन्य सरसमानहरु डुबि अन्दाजी मुल्य आठ लाख बारबरको क्षति भएको झापा प्रहरीले जनाएको छ ।







प्रतिक्रिया