Banner news

‘विद्यालय तहमा कृषि शिक्षालाई जोड दिइने’

‘विद्यालय तहमा कृषि शिक्षालाई जोड दिइने’


काठमाडौँ, १ मङ्सिर – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय तहमा कृषि शिक्षालाई जोड दिइने बताउनुभएको छ ।

मन्त्रालय र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको परियोजनाको अन्तिम मूल्याङ्कन बैठकमा मन्त्री भट्टराईले शिक्षाको मूल उद्देश्य मेहनत गर्न सिकाउनु, सिकेको कुरालाई व्यावहारिक बनाउनु तथा सिकाइको प्रयोग गर्नु रहेको बताउनुभयो ।

मन्त्री भट्टराईले दुई सय पाँच विद्यालयमा कृषिको पढाइ भइरहेको अवस्थामा परियोजनामार्फत कृषि प्रवद्र्धनका लागि भएका कार्यको प्रशंसा गर्नुभयो । उहाँले विद्यार्थी देशका परिवर्तनकर्मी भएकाले शिक्षक र विद्यार्थीले विद्यालयलाई परिवर्तनकारी संस्थाका रूपमा विकास गर्न खेत तथा बारीलाई कृषिको प्रयोगशाला बनाउन आवश्यक भएको बताउनुभयो ।

समुदाय, विद्यालय र घर नजोडिए शिक्षा अपूरो हुने भएकाले पाठ्यक्रममा आत्मनिर्भर कृषि मात्र होइन व्यावसायिक कृषिका लागि उच्चतम विषयवस्तु समेट्नुपर्ने मन्त्री भट्टराईको भनाइ थियो । विद्यार्थीलाई अनुसन्धान कार्यमा सहभागी गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

शेयर गर्नुहोस :

0
Shares