Banner news

अर्जुनधारामा बालाचर्तुदशी मेलाको तयारी पूरा

अर्जुनधारामा बालाचर्तुदशी मेलाको तयारी पूरा


भद्रपुर – पूर्वको पशुपतिनाथ भनेर चिनिने अर्जुनधारा जलेश्वरधाममा बालाचर्तुदशीको अवसरमा आयोजना गरिने ४२औँ वार्षिक अनुष्ठानको तयारी पूरा भएको छ । प्रत्येक वर्ष मार्ग कृष्ण त्रयोदशीको बेलुकादेखि यस क्षेत्रमा लाग्ने मेलाको तयारी पूरा भएको धाम व्यवस्थापन समितिले जनाएको छ ।

समितिका कोषाध्यक्ष मनोज जोशीका अनुसार विश्वशान्ति र पितृ उद्धारका लागि मङ्सिर ८ गतेदेखि सुरु भएको महायज्ञ शनिबार बालाचर्तुदशीको दिनसम्म सञ्चालन हुनेछ । धाममा एक सय आठ आचार्य ब्राह्मणद्वारा श्रीमद्भागवतसहित हवन महायज्ञ भइरहेको उहाँले जानकारी दिनुभयो ।

उक्त अवधिमा पाँच लाख भन्दाबढी आन्तरिक तथा बाह्र श्रद्धालु भक्तजन यस क्षेत्रमा आउने अनुमान गरिएको कोषाध्यक्ष जोशीले बताउनुभयो । महाभारतकालीन इतिहास बोकेको यस धामले जलेश्वरधामको रूपमा पौराणिक इतिहास उजागर गर्दै विसं २०२३ देखि आधुनिक संरचना बनाउन सुरु गरेको थियो । हालसम्म करिब पाँच बिघा क्षेत्रफलमा बृहत् धाम विकासमा अघि बढिरहेको उहाँको भनाइ छ ।

धामभित्र एक सय आठ शिवलिङ्ग तथा पार्वती मन्दिर, शनि मन्दिर, यज्ञशाला, मोक्षेश्वर शिव लिङ्ग, अर्जुनवाण मूल पोखरी, पाँचधारा, धान्यचल, कालीनाग मन्दिर, हनुमान स्तम्भ, सन्त निवास भवन, श्री हनुमान लक्ष्मीनारायण तथा नटराज गणपति मन्दिर र गौशला छन् ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu