मुख्य समाचार

जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन

जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन


म्याग्दी, १८ कात्तिकः पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा पहिरोग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट आएका भूगर्भविद्, गाउँपालिकाका जनप्रतिनिधि र प्राविधिकको टोलीले पहिरोले क्षति पुगेका र जोखिममा रहेका बस्तीहरूको अध्ययन गरेको हो ।

भूगर्भविद् सुमन पाण्डे र सन्देश रेग्मीसहितको टोलीले मङ्गलबार फर्से, किराखोर, खानीगाउँ र ताङवाङ पहिरोको अध्ययन गरेको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिनुभयो । “आज केराबारी, पुलचोक र भेडाबारी क्षेत्रको पहिरोको अध्ययन गर्ने छौँ”, उहाँले भन्नुभयो, “विपद्बाट क्षति पुगेका बस्तीमा थप जोखिमको पहिचान गर्ने उद्देश्यले गाउँपालिकाको अनुरोध र जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसका आधारमा प्राधिकरणले भूगर्भविद्को टोली पठाएको हो ।”

भौगर्भिक अध्ययन प्रतिवेदनको सुझावका आधारमा पुनर्निर्माणको काम अघि बढाइने उपाध्यक्ष आचार्यले बताउनुभयो । टोलीले क्षति भएका, जोखिममा रहेका बस्तीको स्थलगत निरीक्षण, ढुङ्गा, माटोको नमूना र ड्रोन क्यामेराको तस्बिरसहित श्रव्यदृश्य सङ्कलनका साथै प्रभावितसँग छलफल गरेको छ । गत असोज ८ देखि ११ गतेसम्मको झरीपछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण जलजलामा ३१६ घरमा क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।

एक सय २६ घर पूर्ण र ५० घरमा आंशिक क्षति पुग्नुका साथै १४० घर जोखिममा रहेका प्रारम्भिक विवरण सङ्कलन भएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । उहाँका बाढीपहिरोले निजी आवाससँगै कोदो, धानलगायत खाद्यबाली र सुन्तलाखेती भएको खेतीयोग्य जमिन, सडक, खानेपानी, सिँचाइ, बस्ती संरक्षणका लागि निर्माण भएका पूर्वाधारमा अकल्पनीय क्षति भएको छ ।

अध्यक्ष आचार्यका अनुसार सबैभन्दा बढी कालीगण्डकीको जलजला गाउँपालिका-८ फर्सेमा ७५ घर बगाएको र २७ घर जोखिममा छन् । बाढी प्रभावितमध्ये अन्यत्र घर नभएका र आफैँ व्यवस्थापन गर्न नसकेकालाई अस्थायी शिविर बनाएर राखिएको छ । फर्सेसँगै वडा नं ७ का ताङवाङ र खानीगाउँ पनि प्रभावित भएका छन् । वडा नं ४ को लामाखेतमा पनि कालीगण्डकीको बाढी पसेर क्षति पुगेको छ ।

अध्यक्ष आचार्यले पहिरोका कारण ताङवाङ र खानीगाउँका ३५ परिवार विस्थापित भएका बताउनुभयो । प्रभावित क्षेत्रमा आधारभूत राहत सामग्रीको व्यवस्था र अल्पकालीन तथा दीर्घकालीन पुनःस्थापनाको कार्ययोजना अघि बढाइएको उहाँले उल्लेख गर्नुभयो ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu