काठमाण्डौ – बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि आज पनि खुवाइँदैछ ।
हिजो छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउन लागिएको हो । देशभरका ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ र १२ महिना अर्थात् १ वर्षदेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन सरकारले राष्ट्रिय कार्यक्रम गर्दै आएको छ ।
पहिलो चरणको कार्यक्रम कात्तिक २ र ३ गते सञ्चालन हुने गरेकोमा यस वर्ष दशैँको सार्वजनिक बिदा परेकाले हिजो र आजका लागि सारिएको थियो । स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले भिटामिन ‘ए’ झण्डै २१ लाख बालबालिका र जुकाको औषधि २० लाख बालबालिकालाई खुवाइने लक्ष्य रहेको बताउनुभयो ।
५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिएका छन् । नजिकैको वडा कार्यालय, स्वास्थ्य चौकी वा तोकिएका ठाउँमा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउन सकिन्छ ।
बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ देखि जुकाको औषधि नियमित खुवाउने गरिएको छ ।
दोस्रो चरणको कार्यक्रम भने वैशाख ६ र ७ गते हुने गरेको छ ।







प्रतिक्रिया