सम्पादकीय

किसानलाई प्रोत्साहन गर्न समर्थन मुल्य प्रभावकारी

किसानलाई प्रोत्साहन गर्न समर्थन मुल्य प्रभावकारी


सम्पादकीय

बिर्तामोड नगरपालिकाको एउटा नारा छ, पारीको होइन बारीको खाउँ । मूलत भारतबाट आयात हुने तरकारीको विकल्पमा नगरपालिकाले स्थानीय कृषकलाई प्रोत्साहन गर्ने गरी कार्यक्रमसहित यो नारा तय गरेको थियो । गत आर्थिक वर्षदेखि सुरु गरिएको यो नाराले बिस्तारै सार्थकता पाउँदै गएको अनुभव गरिएको छ । तरकारी उत्पादनमा किसानलाई सघाउने र बजारीकरणमा समेत सहयोग गर्ने दीर्घकालीन नीतिसहित नगरपालिकाले कार्यक्रम सुरु गरेको थियो । कार्यक्रम सुरु भएता स्थानीय कृषकले व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । व्यवसायिक तरकारी खेतीमा लागेका किसानलाई नगरपालिकाले समर्थन मूल्यका आधारमा रकम समेत हस्तान्तरण गरेको छ ।‌

किसानलाई समर्थन मूल्यको रकम हस्तान्तरण गर्नु आफैँमा प्रशंसनीय विषय हो । व्यावसायिक तरकारी खेतीमा लागेका मनोबल मात्रै बढाउँदैन, अरु किसानलाई समेत व्यवसायिक बन्न प्रोत्साहित गर्छ । पाँच लाख भन्दाबढी रुपैयाँ प्राप्त गर्ने परिस्थिति एउटा किसानका लागि खुसी र गर्वको कुरा हो । २४ जना किसानले शुक्रबार १२ लाख ८१ हजार भन्दाबढी रुपैयाँ प्राप्त गरेका छन् । बिर्तामोडका किसानले विभिन्न जातका तरकारी उत्पादन गर्छन् । दिनको बजारीकरणका लागि नगरपालिकाले संकलन केन्द्र समेत स्थापना गरिदिएको छ । सङ्कलन केन्द्रमार्फत उपभोक्ताले सहज रुपमा स्थानीय उत्पादन खरिद गर्न पाउँछन् । मुख्य सङ्कलन केन्द्रको पनि व्यवस्था छ । अहिले ६७ जना किसानले मुख्य सङ्कलन केन्द्रमा तरकारी बिक्री गर्दै आएका छन् ।

विषादीरहित तरकारी उत्पादनमा जोड दिँदै आएको नगरपालिकाले क्रमश किसानलाई संगठित गर्दै प्रोत्साहनको नीति अवलम्बन गरिरहेको छ । व्यावसायिक बन्न, आत्मनिर्भरताको खोजीमा लाग्न र श्रम र सीप खर्चिन सक्ने वातावरण बनाउने काममा स्थानीय सरकारको भूमिका सधैं सकारात्मक हुनुपर्छ । बिर्तामोड नगरपालिकाले त्यो भूमिकालाई प्राथमिकतामा राखेको देखिन्छ । किसानको मेहनतलाई सम्मान गर्न सकियो भने मात्रै आयात प्रतिस्थापन गर्ने सरकारी लक्ष्य पुरा हुन सक्छ । किसानलाई व्यावसायिक बनाउने, रोजगारीको अवसर सिर्जना गर्ने, आयात कम गर्ने र विषादीरहित तरकारी उपभोक्ताका घरसम्म पुर्‍याउने नगरपालिकाको लक्ष्य पूरा गर्न सरोकारवाला सबैको भूमिका र दायित्व उत्तिकै प्रभावकारी हुनुपर्छ ।

शेयर गर्नुहोस :

27
Shares