सम्पादकीय
लागूऔषध नियन्त्रण विरुद्ध झापा प्रहरीले आक्रमक नीति अपनाउँदै आएको छ । झापा मात्रै होइन, केन्द्रीय प्रहरी नेतृत्वको नीति पनि आक्रामक देखिन्छ । लागू औषधको फैलँदो सञ्जाल तोड्नका लागि प्रहरी प्रशासनले पछिल्लो समय गर्दै आएको प्रयत्न आफैँमा प्रशंसनीय छ । यसअघि लागू औषध को धन्दा मौलाउनुमा प्रहरीको मौन समर्थन पर्याप्त छ भन्ने चर्चा पनि चल्दै आएको थियो । जनस्तरमा चलिरहेको त्यो चर्चालाई चुनौती दिँदै प्रहरी प्रशासनले पछिल्लो समय लागू औषध नियन्त्रणका लागि आफ्नो अधिकतम शक्ति प्रयोग गरिरहेको छ । प्रहरीको बढ्दो सक्रियताले धमाधम लागूऔषध प्रयोगकर्ता पक्राउ परिरहेका छन् । थाेर बहुत मात्रामा उनीहरूबाट प्रहरीले लागू औषध बरामद पनि गर्दै आएको छ । सीमावर्ती भारतीय क्षेत्रबाट भित्रने ब्राउन सुगर प्रहरीका लागि टाउको दुखाइको विषय भएको छ । प्रयोगकर्ता समात्नका लागि झापा लगायतका जिल्लामा प्रहरीले गोली चलाएका घटना पनि नौला छैनन् । आवश्यकताका आधारमा प्रहरीले गोली चलाउनु परेको जनाउँदै आएको छ ।
झापाको सदरमुकाम आसपासका क्षेत्रमा समेत लागूऔषधको धन्दा चलिरहँदा प्रहरीले पटक-पटक गोली चलाएको छ । कतिपय अवस्थामा लागू औषधको कारोबारमा संलग्न हुन् वा प्रयोगकर्ता, तिनले प्रहरीलाई निशाना बनाउँदै आएका छन् । कतिपय ठाउँमा प्रहरीमाथि नै आक्रमणको प्रयास भएको छ । आइतबार झापाको भद्रपुरमा लागू औषध नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै आक्रमणको प्रयास भयो । कारोबारीले प्रमाण नष्ट गर्ने प्रयास मात्रै गरेनन्, हतियार देखाएर प्रहरीलाई लखेट्ने दुसाहस समेत देखाए । यसले पनि लागू औषध कारोबारीले कुन तहको हिम्मत राख्दा रहेछन् भन्ने पुष्टि भएको छ । हुन त प्रहरीले बल प्रयोग गरेको भए, उनीहरू माथि राम धुलाई हुन सक्थ्यो । यस्ता घटनामा प्रहरीले आफूलाई संयम राख्दै आएको छ । प्रहरी संयम पनि हुनुपर्छ ।
शंकास्पद व्यक्तिलाई संयमित भएर व्यवहार गर्ने र सोही अनुसार नियन्त्रणमा लिने पद्धतिको विकास गर्न सकियो भने मात्रै पूर्ववत लक्ष्यमा प्रहरीले पनि सफलता प्राप्त गर्न सक्छ । प्रहरी आक्रामक हुँदा कतिपय अवस्थामा दुर्घटना निम्तिएको विषय पनि लुकाइरहनु पर्दैन । सुझबुझपूर्ण प्रस्तुतिले प्रहरीलाई निष्कर्षमा पुग्न सहज मद्दत गर्छ । अर्कोतर्फ प्रहरीमाथि हमला गर्ने जुन प्रयास भएको छ, त्यो आफैँमा निन्दनीय विषय हो । त्यसले पनि कारोबारमा संलग्नहरू कति अतालिएका छन् भनेर देखिन्छ । कानुन त प्रहरीमाथिको आक्रमण प्रयास एउटा अपराध जस्तै हो । अनुसन्धान गर्ने निकायलाई सहयोग गर्नुपर्ने सन्दर्भमा समेत कतिपय नागरिकले व्यवस्था गर्दै आएका छन् । लागू औषध नियन्त्रणका मामिलामा प्रहरीलाई सहयोग गर्नु आम नागरिकको कर्तव्य र दायित्व हो । अझ सामाजिक संघसंस्थाको नाममा गतिविधि गरेर आसन र भाषणमा रमाउनेहरुले समेत आफूलाई एउटा सच्चा र कर्तव्यनिष्ठ नागरिकका रुपमा प्रस्तुत गर्न सक्नुपर्छ ।







प्रतिक्रिया