सम्पादकीय

सुन कारोबारमा सावधानी अपनाऔं

सुन कारोबारमा सावधानी अपनाऔं


सम्पादकीय
नेपाली बजारमा पछिल्लो समय सुनको मुल्यले सबैलाई आश्चर्य बनायो । असोजको अन्तिममा २ लाख ५८ हजार प्रतितोलामा कारोबार भयो । मुल्य वृद्धिले आश्चर्य बनाए पनि कारोवार रोकिएन । बजारमा माग बढेको थियो । थप मुल्य वृद्धि हुने चिन्ताले उपभोक्ताहरुले खरिद गरे । पछिल्लो चार दिनदेखि यसको मुल्य ओरालो लागेको छ । बुधबार २ लाख ३६ हजार ३ सयले कारोबार भयो । मुल्य थप घट्न सक्ने संभावनाले कतिपयले विक्री गर्न नै थालेका छन् । केहीले खरिद गरेर राख्लेको व्यवसायीको भनाई छ । सुन परम्परादेखि नै स्थायित्व र सुरक्षित सम्पत्तिको प्रतीक मानिन्छ । त्यसैले पनि यसको मुल्यसँग सबैको सरोकार छ ।

हालको विश्व आर्थिक अनिश्चितता, मुद्रास्फीति र बजार अस्थिरताका बीच सुनमा लगानीको औचित्य झन् प्रष्ट बन्दै गएको छ । जब मुद्रा अवमूल्यन हुन्छ वा शेयर बजारमा उतार–चढाव आउँछ, लगानीकर्ताहरू सुनतर्फ आकर्षित हुने गर्छन् । यसको कारण सुनको मूल्य समयसँगै घट्ने सम्भावना न्यून हुन्छ, बरु दीर्घकालमा वृद्धिको सम्भावना बलियो रहन्छ । नेपालमा पनि पछिल्ला वर्षहरूमा सुनमा लगानी गर्ने चलन बढ्दै गएको छ । नेपालीको परम्परागत सोचमा पनि सुनलाई ‘सुरक्षित बचत’ को रूपमा लिइन्छ ।

आजको डिजिटल र अनिश्चित अर्थतन्त्रमा यो सोच अझ सान्दर्भिक बनेको छ । बैंक ब्याजदर घट्दा र शेयर बजारमा जोखिम बढ्दा सुन स्थिर विकल्प बन्न सक्छ । साथै, सुनलाई सजिलै खरिद–बिक्री गर्न सकिने भएकाले तरलता पनि रहन्छ । तर, सुनमा लगानी गर्दा सावधानी आवश्यक छ । विश्व बजार मूल्य, भन्सार शुल्क र भण्डारण सुरक्षाको पक्षलाई बेवास्ता गर्न हुँदैन । अल्पकालीन नाफाको लोभभन्दा दीर्घकालीन स्थायित्व हेरेर लगानी गर्नु बुद्धिमानी हुन्छ । सुनमा लगानी गर्नु केवल परम्परागत चलन मात्र होइन, आधुनिक अर्थतन्त्रमा पनि विवेकपूर्ण विकल्प हो । उचित योजना भए सुनले आर्थिक सुरक्षाको भरोसा दिने छ । त्यसैले सुनको कारोबारमा सावधानी अपनाऔं । बजार हल्लाको पछि लागेर कारोबार नगरौं ।

शेयर गर्नुहोस :

27
Shares