सम्पादकीय

सहिदको सालिक तोड्नेलाई कारबाही गर

सहिदको सालिक तोड्नेलाई कारबाही गर


सम्पादकीय

जेनजी आन्दोलनको दोस्रो दिन झापाको गरामनीमा रहेको सहिद पार्कमा तोडफोड भयो । सहिदका टाउँको सडकमा फालियो । सहिदमाथि यो हदको दुव्र्यवहार र अमानवीय काम होसमा कसैले गर्न सक्दैन । बेहोसीमा सहिदमाथि आक्रोस व्यक्त गर्नेहरुमा मानवता र सभ्यता नै देखिएन । कोही कसैमाथि आक्रोेस पोख्ने ठाउँ सहिदका सालिक थिएनन्, होइनन् । विश्वको कुनै पनि ठाउँमा यस प्रकारको घटनालाई क्षम्य गरिने छैन । सहिदको शालिक तोडफोड हुनु अत्यन्तै दुःखद र निन्दनीय कार्य हो । यसको जति नै भत्र्सना गरे पनि कम हुन्छ ।

सहिदहरू देश, जनता र न्यायका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने महान व्यक्तित्व हुन् । उनीहरूको योगदानको सम्मान गर्नु प्रत्येक नागरिकको नैतिक दायित्व हो । तर, यस्तो पवित्र स्थलमा तोडफोड जस्तो उश्रृङखल कार्य हुनुले समाजमा अपराधी मनोवृत्ति बढ्दै गएको संकेत गर्छ । कुनै समूह वा दलमा आवद्ध व्यक्तिले गरेको हो भने त्यस प्रकारको अपराधिक मानसिकता भएकाहरुलाई कारबाही गर्नुपर्छ । तोडफोडमा संलग्नहरुको बचाऊ गर्नेहरु पनि अपराधिक मनोविज्ञानकै हुन्छन् । त्यसैले कारबाहीमा कसैले पनि रोकछेक नगरौं । अपराधिकरणको संरक्षणमा लाग्नु आफ्नै लागि प्रतिउत्पादक हुनेछ ।

सहिदको अपमान एउटा मूर्तिको तोडफोड मात्र होइन, यो राष्ट्रप्रतिको अपमान पनि हो । यस्तो कार्य गर्ने जो कोही होस्, तिनलाई कडा कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ । कानुनले यस्तो अपराधलाई सहनु हुँदैन । यदि कारबाहीमा ढिलाइ गरियो भने समाजमा भय र अनुशासनभन्दा अपराध र दण्डहीनताको संस्कृतिलाई बल मिल्नेछ । सहिदहरूले देखाएको बाटो जनताको अधिकार, समानता र न्यायको बाटो हो । त्यसैले सहिदको सम्मान गर्नु भनेको जनताको खुशी र अधिकारको रक्षा गर्नु हो । समाजले स्वीकार गर्न नसक्ने यस्तो अपराधलाई जरा उखेल्न राज्यका निकाय सतर्क र सक्रिय हुन जरुरी छ । सहिदप्रतिको सम्मान नै सशक्त राष्ट्र निर्माणको आधार हो । यस तर्फ यहाँका सचेत र बौद्धिक वर्ग कारबाहीका लागि अग्रसर हुनुपर्छ ।

शेयर गर्नुहोस :

108
Shares