सम्पादकीय

लोभलालचको अपराधबाट टाढा रहौं

लोभलालचको अपराधबाट टाढा रहौं


सम्पादकीय

झापाको शिवसताक्षी नगरपालिकामा भएको एक दर्दनाक घटनाले समाजलाई झस्काएको छ । अपराधका विभिन्न श्रृङखलाहरुमा शिवसताक्षी–१० को घटना अनौठो भयो । लोभलालचा देखाएर छिमेकीबाटै भएको अपराधले नेपाली समाजलाई फेरि झस्काएको छ । सस्तोमा सुन खरिद गर्ने, काठमाडौंमा पनि बेचाइदिने योजना बनाएका ३३ वर्षीय सरोज शर्माको हत्या भयो । उनलाई छिमेकी राहुल र सुनिल साहले हत्या गरेर हुलाकी सडकको विरिङ पुलमुनी पुरिदिए । त्यसका लागि उनीहरुले एक जना भारतीय नागरिकको पनि सहयोग लिए । हत्यामा संलग्न दुई जनालाई प्रहरीले सार्वजनिक नै गरिसक्यो । भारतीय फरार छन् ।

सुनको लोभ देखाएर आफ्नै छिमेकी युवाहरुले निर्मम हत्या गरे । सस्तोमा सुन खरिद गर्न सकिने भन्दै बोलाइएका युवालाई फर्किन दिइएन । यो घटनाले एक व्यक्तिको मृत्यु मात्र होइन, मानवता र नैतिकताको पनि हत्या गरेको छ । सुन हेर्न बोलाएर लुट्ने योजना बनाएकाहरु अन्तत : कानुनी घेरामा आइसकेका छन् । यस घटनाले लोभ र स्वार्थले मानिसलाई कसरी अपराधी बनाइदिन्छ भन्ने चरितार्थ गरेको छ । थोरै फाइदाको लोभमा मानवीय संवेदना, मित्रता र विश्वास सबै बिर्सन सक्ने अवस्था बन्दै जानु समाजका लागि घातक छ ।

सुन, पैसा वा सम्पत्तिको लागि ज्यानै लिनु ठुलो अपराध हो । समाजमा बढ्दो भौतिक मोह, सजिलो कमाइको सपना र नैतिक मूल्यको पतनले यस्ता अपराधलाई वृद्धि गरिरहेको छ । अब यो घटनालाई हेरेर नागरिकले आत्मचिन्तन गर्नुपर्छ । मानव जीवनको मूल्य मान्यता, मानवीयता किन घट्दैछ ? यसैले समाजमा लोभ, अपराध जस्ता घटना अन्त्य गर्न सबैले सकारात्मक बाटो हिड्नुपर्छ, हिड्नलाई प्ररित गरौं । सुनको लोभमा परेर ज्यानसम्म गुम्न सक्ने यथार्थले सबैलाई सावधान बनाएको हुनुपर्छ । जीवन सबैभन्दा अमूल्य हो । लोभ र धनभन्दामाथि उठेर जीवन अघि बढाऔं । यस प्रकारका घटना दोहोरिन नदिन सचेत र सजग रहौं । हामी कतै लोभमा परेका छौं कि, कतै धनको पछि दौडिएको छौ रु शान्त भएर सोचौं, अब यस्ता अपराध सुन्न नपरोस् । त्यसका लागि आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गरौं ।

शेयर गर्नुहोस :

81
Shares