सम्पादकीय
नेपाली समाजमा बेथितिको चाङ छ । सबैले राजनीति क्षेत्रलाई विथितिको केन्द्र मानेको अवस्था छ । तुलानात्मक रुपमा राजनीति क्षेत्रमा बेथिति धेरै छ । यसको मतलव अन्य क्षेत्रमा कम छ भन्ने होइन । सबै क्षेत्रमा बेथिति छ । बेथिति हटाएर समाजलाई सुन्दर बनाउने अभियानमा जुटौं । सरकारी तथा गैरसरकारी क्षेत्र, सार्वजनिक सरोकारका क्षेत्रमा हुने बेथितिहरु कम छैनन् । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम नेपालले सरकारी कार्यालयमा हुने वेथिति सुधारका लागि सहयोग गर्न गरेको आग्रह महत्वपूर्ण छ । यसरी सबैले आ–आफ्नो क्षेत्रमा सुधारको प्रयास गर्नुपर्छ ।
आज हाम्रो समाजका धेरै क्षेत्रहरूमा अनुशासन, पारदर्शिता र जिम्मेवारीको कमी देखिन्छ । सरकारी कार्यालयमा ढिलासुस्ती, घुसखोरी, गैरजिम्मेवारी र सेवा लिन आएका नागरिकप्रति उदासीनता सामान्य जस्तै बनेको छ । यस्ता कमजोरीका कारण जनतामा राज्यप्रति विश्वास घट्दै गएको अवस्था छ । तर, बेथिति केवल सरकारी कार्यालयमै सीमित छैन । शिक्षा क्षेत्रमा महँगो शुल्क, कमजोर गुणस्तर र राजनीति हस्तक्षेपले समस्या बढाइरहेको छ । स्वास्थ्य क्षेत्रमा महँगो उपचार, बेवास्ता र कमिशनले जनस्वास्थ्य प्रभावित छ । व्यापारमा कर छल, ठगी, नापतौलमा बेइमानी जस्ता प्रवृत्ति अझै हटेको छैन । राजनीतिक क्षेत्रमा स्वार्थ, व्यक्तिगत लाभ र पद–प्रतिष्ठाको लालसाले आम जनतालाई निराश बनाएको छ ।
भदौंमा भएको जेनजी आन्दोलन पनि मुलुककै बेथिति विरुद्धको जनभावना हो । सहि उदेश्यबाट भएको आन्दोलनमा घुसपैठले देशलाई धेरै ठुलो क्षति पु¥यायो । क्षतिलाई छोडेर हेर्ने हो भने उद्देश्य ठिक थियो । त्यो परिवर्तनको आवाज थियो । यस्तो आवाजलाई स्वीकार गरेर जानुपर्छ । समाधानको ढोका खोल्ने माध्यमका रूपमा बुझ्न आवश्यक छ । समाज सुधार सरकार, नेतृत्व वा प्रशासनले मात्र गर्ने काम होइन । जनतादेखि कर्मचारी, शिक्षकदेखि व्यापारी, नेता देखि युवा सबैको जिम्मेवारी हो । हरेक स्थानबाट सुरु भएको सानो सुधारले ठूलो प्रभाव पार्छ । अब सबैले वेथितिमुक्त समाजका लागि प्रतिवद्धता गर्न जरुरी छ । पारदर्शिता, इमानदारी, सेवा भावना र उत्तरदायित्वको संस्कार स्थापित गरेर अघि बढौं । वेथिति रहिरह्यो भने कुनै परिवर्तनको आभास हुने छैन । परिवर्तन र विकासका लागि सबैले वेथितिमुक्त समाजको निमित्त योगदान गरौं ।







प्रतिक्रिया