सम्पादकीय

हिंसालाई निरुत्साहित गरौं

हिंसालाई निरुत्साहित गरौं


सम्पादकीय

जेनजी आन्दोलनका नाममा देशका विभिन्न स्थानमा निजी सम्पत्ति, प्रहरी चौकी तोडफोड तथा आगजनी, सरकारी सम्पत्ति ध्वस्त पार्ने काम भयो । २३ गते जेनजी पुस्ताले विभिन्न माग राख्दै आन्दोलन गरेका थिए । त्यसको भोलीपल्ट २४ गते घुसपैठ गरेर आगजनी र तोडफोडको काम भयो । उस्तै गरी प्रहरी कार्यालय र राष्ट्रसेवक प्रहरीमाथि आक्रमण भयो । अहिले त्यस प्रकारका घटनामा संलग्नहरु झापामा पनि पक्राउ पर्न थालेका छन् । झापामा प्रहरीमाथि निर्घात कुटपिट गर्ने र प्रहरी कार्यालय तोडफोड तथा आगजनीमा संलग्नहरुलाई पक्राउ गर्न थालिएको छ । प्रहरीले त्यस प्रकारका अपराधमा संलग्नहरुलाई कानुनी दायरामा ल्याउन मिसन नै सुरु गरेको छ ।

सुरक्षाकर्मीमाथि निर्घात कुटपिट गर्ने समूह सामाजिक रुपमा घातक छ । यो अपराधिक समूहबाट समाजलाई सुरक्षित राख्न पनि कानुनी दायरामा ल्याउनैपर्छ । आन्दोलनको आवरणमा हिंसा, आगजनी र अराजक गतिविधिले माहोल भड्किएको थियो । लोकतान्त्रिक समाजमा आन्दोलन, प्रदर्शन र असन्तुष्टि व्यक्त गर्ने स्वतन्त्रता सबै नागरिकको अधिकार हो तर अपराध गर्ने छुट कसैलाई छैन । तोडफोड, आगजनी र प्रहरीमाथिको कुटपिट कानूनको स्पष्ट उल्लंघन हो । पछिल्लो समय यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको धमाधम पक्राउले एक प्रकारको सुरक्षा अनुभूति हुन थालेको छ । पक्राउ गर्नु कानूनी प्रक्रियाको स्वाभाविक चरण हो । आन्दोलन र अपराधबीच स्पष्ट हुनुपर्छ । त्यसै बमोजिम कारबाहीको काम गर्न लाग्नुपर्छ ।

कुनै पनि आन्दोलन शान्तिपूर्ण, सभ्य र जिम्मेवार हुनुपर्छ । यदि अपराधमा संलग्न व्यक्तिहरूलाई उन्मुक्ति दिइयो भने समाजमा शान्ति र सुरक्षामा ठूलो संकट उत्पन्न हुन्छ । राज्यको सम्पत्ति जनता कै हो । प्रहरी जनताको सुरक्षाका लागि खटिएको सेवक हो । त्यसैले प्रहरी प्रशासनले अपराधमा संलग्न व्यक्तिहरूलाई खोजी, अनुसन्धान र कानूनी कारबाही गर्ने मिसनलाई थप प्रभावकारी बनाउँदैपर्छ । यस्ता घटनामा संलग्न रहेका व्यक्तिहरूले पनि उत्तेजनामा गल्ती भएको महसुस गर्दै आत्मसमर्पण गरेर कानूनी प्रक्रियामा सहयोग गर्नु उत्तम हुनेछ । लोकतन्त्रमा आवाज उठाउनु अधिकार हो । शान्ति, कानून र अनुशासनको सम्मान गर्दै अघि बढ्दा मात्र समाज स्थिर र सुरक्षित बन्छ । त्यसैले हिंसालाई निरुत्साहित गर्न सबैले सहयोग गरौं । हिंसालाई सहयोग गरियो भने त्यसले समाजलाई भड्खालोमा पुराउने छ ।

शेयर गर्नुहोस :

27
Shares