सम्पादकीय
झापाको बिर्तामोडमा बढ्दो शहरीकरणसँगै सुरक्षा चुनौति थपिदैं गएको छ । पूर्वको ठुलो बजार बिर्तामोडमा सुरक्षा चुनौतिलाई ख्याल गर्दै २०७५ सालमा सीसी क्यामेरा जडान गरियो । बजार क्षेत्रको सुरक्षालाई मध्यनजर गर्दै सुरु गरिए पनि सीसी क्यामेरा जडानको काम भित्रि गल्लीहरुसम्म राख्ने काम भयो । भित्री गल्लीदेखि मुख्य राजमार्गसम्म १२० थान सीसी क्यामेरा जडान गरेर प्रविधि मार्फत बिर्तामोडको निगरानी भइरहेको थियो । अहिले सबै सीसी क्यामेरामा तोडफोड गरिएको छ । तोडफोडबाट क्षति पुगेको सीसी क्यामेराको धुलो पनि भेटिएको छैन । अराजक र अपराधिक समूहले सीसी क्यामेरा तोडफोड गरेको हो ।
नागरिकको सुरक्षाका लागि जडान गरिएको सीसी क्यामेराको महत्व र आवश्यकता नबुझ्नेहरुले तोडफोड गरेका हुन् । हुनतः प्रहरी कार्यालय आगजनी गर्ने, प्रहरीलाई निर्घात कुटपिट, हत्या गर्नेहरुको मनोविज्ञानले सीसी क्यामेरा तोडफोड गर्नु सामान्य नै हो । सीसी क्यामेराले प्रहरीलाई अपराध अनुसन्धानमा सहयोग पुगिरहेको थियो । अपराध गर्नेहरुको खोजीका लागि सीसी क्यामेरा प्रभावकारी बनिरहेको थियो । चोरी गरेर भाग्नेहरु पक्राउ गर्न हुलिया पहिचान गर्न सजिलो भएको थियो । एउटा मानिस हराउँदा पनि खोजी गर्न सीसी क्यामेरा उपयोगी थियो ।
बिर्तामोडमा केही वर्षअघि एक जना भारतीयले ठुलो परिमाणमा सुन चोरी गरे । भारतबाट आएर बिर्तामोडमा सुन चोरी गर्ने व्यक्ति सैलुनमा छिरेर दारी काट्दै गरेको भेटिए । भारतीय नम्बर प्लेट भएकै सवारी लिएर आएका ति व्यक्तिको पहिचान गर्न पनि सीसी क्यामेराकै मद्दत लिइएको थियो । चोक क्षेत्रमा हुने दुर्घटनामा व्यक्ति पहिचानसँगै गल्ती पत्ता लगाउन पनि सीसी क्यामेराले कैद गरेको भिडियो प्रयोग हुने गरेको थियो । पछिल्लो समय प्रहरी कार्यालयमा अन्य नागरिक पनि सीसी क्यामेराको मद्दतमा हराएका सामान खोज्नेदेखि अन्य कामहरुमा सहयोग लिन पुगिरहेका थिए । यति धेरै उपयोगिता भएको सीसी क्यामेरा तोडफोड गर्नेहरु असामाजिक पात्र हुन् । उनीहरुको पहिचान गरी कारबाहीको दायरामा ल्याउनुपर्छ । सँगै, बिर्तामोडको सुरक्षाका लागि सीसी क्योमरा जडान गर्नैपर्छ । समुदायस्तर र सरकारको सहयोगमा सीसी क्यामेरा जडान गर्नुपर्छ । स्थानीय तह, प्रदेश सरकार र सेवाभाव भएका व्यापारीहरुको सहयोगमा सीसी क्यामेरा जडानको काम अघि बढाउन आवश्यक छ । सीसी क्यामेरा नभएको मौका छोपेर थप अपराधिक घटना हुन सक्ने संभावनालाई मध्यनजर गर्दै सीसी क्यामेरा जडानको काम गरौं ।







प्रतिक्रिया