सम्पादकीय
झापामा पछिल्लो समय आत्महत्याको दरमा देखिएको वृद्धि भयावह छ । जिल्ला प्रहरी कार्यालयको पछिल्लो तथ्यांकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म मात्रै १३७ जनाले ज्यान गुमाएको देखाएको छ । यो संख्या कुनै सामान्य घटना नभई सिंगो समाजका लागि गम्भीर समस्या हो । झापामा आत्महत्या गर्नेहरूमा ३६ देखि ४५ वर्षको उमेर समूह अग्रपंक्तिमा छ । यो घटनाले परिवार र समाजको मूल आधार स्तम्भमाथि नै जोखिम बढाएको स्पष्ट भएको छ । आत्महत्या मानसिक तथा दीर्घरोग पहिलो स्थानमा रहनुले हाम्रो स्वास्थ्य समस्या र सामाजिक सोचमा रहेको कमजोरीलाई बाहिर ल्याएको छ । पारिवारिक बेमेल, लागुऔषधको दुव्र्यसन र सामाजिक सञ्जालको गलत प्रयोगले मानिसलाई डिप्रेशनको खाडलतर्फ धकेलिरहेको स्पष्ट हुन्छ ।
परामर्शकर्ताकर्ताहरुका अनुसार व्यस्त जीवनशैली र व्यक्तिगत सम्बन्धमा आएको विचलनका कारण भावना साटासाट गर्ने वातावरण हराउँदै गएको छ । आफ्ना पीडा र समस्याहरू व्यक्त गर्न नसक्दा मानिसले अन्तिम विकल्पका रूपमा मृत्युलाई रोजिरहेका छन् । यो समस्या सुरक्षा निकाय वा केही संघसंस्थाको प्रयासले मात्र हल हुने देखिँदैन । स्थानीय सरकारहरूले यसलाई गम्भीरतापूर्वक लिई आत्महत्या न्यूनीकरणका लागि विशेष योजना र कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता छ । मेचीनगर जस्ता स्थानमा भइरहेका सचेतना कार्यक्रमहरू अन्य पालिकामा पनि अनिवार्य रूपमा लागू हुनुपर्छ । विद्यालय तहदेखि नै मानसिक स्वास्थ्यबारे शिक्षा दिने, टोलटोलमा परामर्श केन्द्रहरू स्थापना गर्ने र समाजमा संवादको संस्कृति बसाल्नुपर्छ ।
आत्महत्या व्यक्तिगत रोजाइ होइन । समाज र परिवेशले जन्माएको ठुलो विकृतिपूर्ण समस्या हो । जबसम्म एकअर्काको दुःखमा सहभागी हुने र समस्यामा परेकालाई समयमै साथ दिने संस्कार निर्माण गर्न सक्दैन, तबसम्म यो आत्महत्याको घटना घट्ने छैन । त्यसैले राज्यका निकाय, जनप्रतिनिधि र हरेक नागरिकले अब सचेत हुनैपर्छ । मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्य जत्तिकै प्राथमिकतामा राखी व्यक्तिगत हेरचाह र आपसी सम्बन्ध सुधारमा ध्यान दिनुपर्छ । यसैले आत्महत्या जस्तो गम्भीर समस्याप्रति सबैको ध्यानाकर्षण हुन आवश्यक छ । समयमै सचेत बनेर समुदायस्तरमा सचेतना फैल्याउन सकियो भने जीवन बचाउन मद्दत पुग्ने छ । यो समस्यालाई हल्का रुपमा नलिऔं, समाधान तर्फ जोड दिऊ ।







प्रतिक्रिया