सम्पादकीय
झापाको बिर्तामोड नगरपालिकामा विद्यालयमा आमा ‘अभिभावक’ कार्यक्रमले शिक्षा क्षेत्रमा एउटा सकारात्मक र अनुकरणीय बहस सुरु गरेको छ । वडा नं. १० मा दुई दिनसम्म चलेको अन्तरक्रियात्मक गोष्ठी र त्यसबाट निस्किएको साझा प्रतिबद्धता कागजी निर्णय मात्र नभई शैक्षिक सुधारका लागि समुदायको सामूहिक संकल्प हो । सामुदायिक र निजी विद्यालयको शैक्षिक गुणस्तर उकास्ने उद्देश्यले वडाले लिएको यो पहल प्रशंसनीय छ । हाम्रो शिक्षा प्रणालीमा प्रायः विद्यालय र अभिभावकबीचको दूरीले गर्दा बालबालिकाको सर्वाङ्गीण विकासमा अवरोध पुग्ने गरेको छ । यस कार्यक्रमले विद्यालयको भौतिक सुधार मात्रै पर्याप्त छैन, बरु अभिभावकको सक्रिय निगरानी र चासो अनिवार्य छ भन्ने सन्देश दिएको छ ।
शिक्षक, अभिभावक, विद्यार्थी र जनप्रतिनिधिले गरेका प्रतिबद्धताहरू अत्यन्तै सान्दर्भिक छन् । विद्यालयमा बालमैत्री वातावरण, प्रविधिको प्रयोग, शिक्षकको रोल मोडल बन्ने प्रण र घरमा अभिभावकले खेल्नुपर्ने साथीजस्तो भूमिकाले बालबालिकाको सिकाइमा ठूलो प्रभाव पार्छ । विशेषगरी, विद्यार्थीहरूले नै राखेको तुलना नगर्ने र जिज्ञासाको सम्मान गर्ने जस्ता सुझावहरूले हाम्रो परम्परागत शिक्षा पद्धतिमा सुधारको खाँचोलाई स्पष्ट पारेका छन् । अभिभावक पनि आफ्नो भूमिकामा सचेत रहे मात्रै गुणस्तरीय शिक्षाको परिकल्पना गर्न सकिन्छ । यद्यपि, यी सबै प्रतिबद्धताहरूको सफलता कार्यान्वयनको पाटोमा निर्भर रहन्छ ।
विद्यालयमा मोबाइल र जंकफुडमा लगाउने भनिएको बन्देज, साप्ताहिक अनुगमन र पाठ्यक्रममा एकरूपता ल्याउने योजनालाई कार्यक्रमको हलमा सिमित नराखी व्यावहारिक रूपमै लागू गरिनु जरुरी छ । कतिपय अवस्थामा यस्ता कार्यक्रमहरू औपचारिकतामा मात्रै सीमित हुने गरेका छन् । त्यसैले वडा कार्यालयले यसको निरन्तर निगरानी गर्नुपर्छ । शिक्षा भनेको विद्यालय, घर र समाजको त्रिकोणात्मक सहकार्य हो । बिर्तामोड–१० ले देखाएको यो बाटो अन्य वडाहरूका लागि पनि प्रेरणाको स्रोत बन्न सक्छ । यदि सबै सरोकारवालाले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेमा वडालाई शैक्षिक हबका रूपमा विकास गर्न धेरै समय लाग्ने छैन ।







प्रतिक्रिया