सम्पादकीय

बाढीपीडितमाथिको अमानवीय हर्कत निन्दनीय

बाढीपीडितमाथिको अमानवीय हर्कत निन्दनीय


सम्पादकीय
भोटेकाशीको विनाशकारी बाढीले मुलुकलाई नै गहिरो शोकमा डुबाएको छ । हजारौं परिवार घरबारविहीन भएका छन् भने सयौं नागरिक आफ्ना प्रियजनको सास वा लासको प्रतीक्षामा बसेका छन् । विपद्को यो संवेदनशील घडीमा राज्य संयन्त्रको अनपेक्षित सुस्तता र उद्धारमा भएको ढिलाइप्रति पीडितहरूको आक्रोश र गुनासो स्वाभाविक छ । आफ्नो मान्छे गुमाउँदाको पीडामा छटपटिएका नागरिकको आवाज सुन्नु र उनीहरूलाई राहत तथा मलम पट्टी लगाउनु राज्य र सम्पूर्ण समाजको पहिलो दायित्व हो । अत्यन्तै दुःखी र दर्दनाक कुरा के छ भने, एकातिर शोकमा डुबेका मानिसहरू सडकमा रोइकराई गरिरहेका छन् भने अर्कोतिर सामाजिक सञ्जालमा उनीहरूमाथि नै घृणा र अश्लील गालीगलौचको वर्षा भइरहेको छ ।

काखमा दूधे बालक च्यापेर हराइरहेका श्रीमान्को खोजीमा भौंतारिएकी पीडित महिलामाथि प्रयोग गरिएका अभद्र र अश्लील शब्दहरूले हाम्रो सामाजिक चेतना र मानवीय संवेदना कतिसम्म पतन भइसकेछ भन्ने कुराको भयावह चित्र प्रस्तुत गर्दछ । कुनै निश्चित राजनीतिक दलका समर्थक वा सत्ताको आडमा जुनसुकै पक्षबाट यस्ता अमानवीय हर्कत भएका भए पनि ती निन्दनीय छन् । राजनीतिक अन्धभक्ति र विचारको मतभेद देखाउने ठाउँ प्राकृतिक विपद् र नागरिकको आँशु हुन सक्दैन । सत्ता वा शक्तिको संरक्षण गर्ने नाममा शोक सन्तप्त परिवारको आवाज दबाउन खोज्नु र उनीहरूमाथि साइबर बुलिङ गर्नु अपराध हो । आफ्ना आफन्तको सास वा लास माग्दा नागरिकलाई गालीगलौच गर्ने र उनीहरूको आत्मसम्मानमा ठेस पु¥याउने छुट कसैलाई छैन ।

अहिलेको समय भनेको पीडितहरूको आँशु पुछ्ने, उद्धार तथा राहत कार्यमा जुट्ने र मानवीय सहानुभूति प्रकट गर्ने समय हो । सामाजिक सञ्जाललाई घृणा र अश्लीलता फैलाउने थलो बनाउनुको साटो विपद् व्यवस्थापनमा ऐक्यबद्धता जनाउने माध्यम बनाउनुपर्छ । बाढी पीडितहरूको चीत्कारलाई दबाउन खोज्ने प्रवृत्तिको भत्र्सना गर्दै राज्यले उद्धारमा तीव्रता दिनुपर्छ र सञ्जालमा अश्लील आक्रमण गर्ने आपराधिक मानसिकता बोकेकाहरूलाई कडा कानुनी दायरामा ल्याउनुपर्छ । नागरिकको पीडामा मलम लगाउनु नै आजको राष्ट्रिय दायित्व हो । पीडितहरुमाथि घृणापैदा गर्नेहरुलाई छुट नदिइयोस् ।

शेयर गर्नुहोस :

0
Shares