सम्पादकीय

जेईविरुद्धको खोप लगाऔं

जेईविरुद्धको खोप लगाऔं


सम्पादकीय
झापामा जापानी इन्सेफ्लाइटिस (जेई) को बढ्दो संक्रमण र मृत्युदरले गम्भीर स्वास्थ्य संकटको संकेत गरेको छ । हालसम्म पहिचान भएका १२ जना संक्रमितमध्ये ६ जनाको ज्यान जानुले यसको भयावहतालाई पुष्टि गर्छ । विगतमा मुख्यतया बालबालिकामा सीमित मानिने यो मस्तिष्क ज्वरो अहिले विशेषगरी ५० वर्षभन्दा माथिका दीर्घरोगी र ३० वर्षमाथिका उमेर समूहमा घातक बन्दै गएको छ । सन् २०२४ यता प्रत्येक वर्ष मृत्युदर बढ्दै जानुले यसलाई सामान्य मौसमी रोगका रूपमा लिने गल्ती अब कसैले गर्नु हुँदैन । बढ्दो जोखिमलाई ध्यानमा राख्दै असोज ५ देखि १९ गतेसम्म १५ वटै स्थानीय तहमा ३० वर्षमाथिका झण्डै पाँच लाख नागरिकलाई खोप दिने स्वास्थ्य कार्यालयको तयारी स्वागतयोग्य छ ।

संक्रमणको केन्द्रविन्दु बनेको मेचीनगर नगरपालिकाबाट सुरु गर्न लागिएको यो अभियानलाई तोकिएकै समयभित्र सफलतापूर्वक सम्पन्न गर्नु प्राथमिकता हुनुपर्छ । खोप भण्डारण, वडास्तरमा खोप केन्द्रको स्थापना र महिला स्वास्थ्य स्वयंसेविकाको परिचालनलाई व्यवस्थित बनाउनु प्रशासनिक दायित्व हो । तर, केवल खोप अभियान सञ्चालन गरेर मात्रै यो भाइरसको नियन्त्रण सम्भव छैन । जेई संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भएकाले यसको मूल जरो खोजेर नियन्त्रण गर्नु आवश्यक छ । धान खेत, हिलो तथा फोहोर पानीमा हुर्कने लामखुट्टेले सुँगुर, हाँस र बकुल्लाजस्ता पशुपन्छीबाट भाइरस लिएर मानिसमा सार्ने भएकाले घरपालुवा जनावरको खोर र फार्महरूको व्यवस्थापनमा विशेष कडाइ गर्नुपर्छ ।

घरवरिपरि सरसफाइ राख्ने, लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउने र व्यक्तिगत सचेतना अभिवृद्धि गर्ने कार्यमा स्थानीय तह र समुदायको सक्रिय सहभागिता अनिवार्य छ । झापा कोशी प्रदेशकै सबैभन्दा बढी जोखिमयुक्त जिल्ला बनेकाले यसलाई जनस्वास्थ्यको आपत्कालीन अवस्थाका रूपमा लिनुपर्छ। जिल्ला प्रशासन, स्थानीय तह, स्वास्थ्य संस्था र नागरिक समाजबीचको एकीकृत समन्वयले मात्र यो जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ । त्यसैले, स्वास्थ्य कार्यालयले सञ्चालन गर्न लागेको खोप अभियानमा लक्षित उमेर समूहका प्रत्येक नागरिक सहभागी बनौं र व्यक्तिगत तथा वातावरणीय सरसफाइमा ध्यान दिई सम्भावित मानवीय क्षति रोकौं ।

शेयर गर्नुहोस :

0
Shares