झापा । झापाको प्रसिद्ध धार्मिक तीर्थस्थल सताक्षीधाममा रहेको गोलोक गोवर्धन गौशालाको आयोजनामा जिल्ला स्तरीय भक्तिपरक छन्द कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा हरि पराजुलीले प्रथम स्थान हासिल गर्नुभएको छ।
गोलोक गोवर्धन गौशालाको सभाहलमा आयोजित प्रतियोगितामा जयप्रसाद आचार्य द्वितीय र जीवनहरि शर्मा तृतीय हुनुभएको छ। त्यस्तै, मोक्ष खतिवडाले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने स्रष्टाहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगितामा जिल्लाका २७ जना कवि तथा कवयित्रीहरूले सहभागिता जनाएका थिए। सहभागी स्रष्टाहरूले गाईको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्व, गौरक्षाको आवश्यकता र गाई संरक्षणसम्बन्धी विषयलाई समेटेर भक्तिपरक छन्दमा कविता वाचन गरेका थिए।
गाईको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा क्रियाशील गोलोक गोवर्धन गौशालाले धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरेको हो। प्रतियोगिताले साहित्यका माध्यमबाट गौरक्षाको सन्देश प्रवाह गर्नुका साथै कवि तथा साहित्यकारहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरेको आयोजकको विश्वास छ।
कार्यक्रममा श्री गोवर्धन गौशालाका संरक्षक तथा अध्यक्ष आचार्य नन्दकिशोर भारद्वाजले गाईको धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्वलाई समाजका सबै तहसम्म पुर्याउन तथा गौरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्न जिल्ला स्तरीय कविता वाचन प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो।
उहाँले साहित्य र सिर्जनाका माध्यमबाट गाईको महत्त्व उजागर गर्दै गौरक्षाको अभियानलाई थप प्रभावकारी बनाउन सकिने बताउनुभयो। गाई नेपाली समाजको धार्मिक आस्था, परम्परा र संस्कृतिसँग जोडिएको महत्त्वपूर्ण प्राणी भएकाले यसको संरक्षणमा सबैले चासो दिनुपर्ने सन्देश प्रतियोगितामार्फत प्रवाह गरिएको आयोजकले जनाएको छ।
धार्मिक आस्था र साहित्यलाई एकै ठाउँमा जोड्ने उद्देश्यले आयोजित प्रतियोगिताले स्थानीय साहित्यिक गतिविधिलाई प्रोत्साहन गर्नुका साथै नयाँ तथा पुराना स्रष्टाहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने साझा मञ्च प्रदान गरेको छ। सताक्षीधामको धार्मिक पहिचानसँगै साहित्यिक तथा सांस्कृतिक गतिविधिलाई पनि अगाडि बढाउन यस्ता कार्यक्रमले योगदान पुर्याउने अपेक्षा गरिएको छ। कार्यक्रममा झापाका ६० बढी साहित्य श्रष्ठा र विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहित १ सय बढीको उपस्थिति रहेको थियो । साहित्यकार कमलप्रसाद पोख्रेलको प्रमुख आतिथ्यमा भएको प्रतियोगिताको सञ्चालन गोलोक गोवर्धन गौशालाका सचिव मदनमोहन अधिकारी गर्नुभएको थियो ।








प्रतिक्रिया