मुख्य समाचार

भदौ २४ मा राज्य संयन्त्रले साथ दिएन: अध्यक्ष ओली

भदौ २४ मा राज्य संयन्त्रले साथ दिएन: अध्यक्ष ओली


काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा २०८२ भदौ २४ गते राज्य संयन्त्रले आफूलाई साथ नदिएको गुनासो गरेका छन्।

बिहीबार काठमाडौंमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा अध्यक्ष ओलीले भदौ २४ गतेको घटनाबारे धारणा राख्दै राज्य संयन्त्रले साथ नदिएपछि प्रधानमन्त्रीले के गर्न सक्छन् भन्दै प्रश्न गरे।

‘भदौ २४ गते राज्य संयन्त्रले साथ दिएन। राज्य संयन्त्रले साथ नदिएपछि प्राइममिनिस्टरले के गर्छ ?’ अध्यक्ष ओलीले भने।

अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि गठन भएको सरकारका लागि आफूले कुनै सिफारिस नगरेको पनि स्पष्ट पारे। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न आफूले सिफारिस गरेको भन्ने प्रचार झुटो भएको उनको भनाइ थियो।

‘केपी ओलीको सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त, संसद् विघटन भनेर झुट बोल्ने काम भयो,’ अध्यक्ष ओलीले भने।

अध्यक्ष ओलीले २०८२ भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसको तीन दिनपछि भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए।

त्यतिबेला आफूले राष्ट्रपतिलाई संविधान मिचेर नभई संविधानभित्रैबाट राजनीतिक निकास खोज्न आग्रह गरेको अध्यक्ष ओलीले बताए।

‘एउटा कुरा स्पष्ट हुनुस्, मैले संविधान मिच्नुहुँदैन भनेर राष्ट्रपतिलाई भनेको छु। संविधानभित्रबाट समाधान खोज्न भनेको हुँ,’ अध्यक्ष ओलीले भने ।

अध्यक्ष ओलीका अनुसार त्यसबेला राष्ट्रपति पौडेल र तत्कालीन प्रधानसेनापति अशोक सिग्देलले संविधानको धारा खुलाइदिन आग्रह गरेका थिए। तर, संविधानमा त्यस्तो नियुक्तिको स्पष्ट व्यवस्था नभएकाले धारा उल्लेख गर्न नसकिने जवाफ दिएको उनले बताए।

‘राष्ट्रपति र सेनापतिले संविधानको धारा खुलाइदिनुस् भन्नुभयो, भए पो धारा लेख्नु,’ अध्यक्ष ओलीले भने।

नेपालको संविधान २०७२ को धारा ७६ अनुसार प्रतिनिधिसभा सदस्य प्रधानमन्त्री नियुक्त हुने व्यवस्था छ। तर, पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री नियुक्त गर्ने छुट्टै व्यवस्था संविधानमा छैन।

शेयर गर्नुहोस :

27
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu