भद्रपुर । प्रादेशिक अस्पताल भद्रपुरले आफ्नो स्वास्थ्य सेवालाई थप गुणस्तरीय, विशिष्टीकृत र प्रभावकारी बनाउने उद्देश्यका साथ तीन जना अति विशिष्ट (डी.एम.) विशेषज्ञ चिकित्सकहरूलाई सेवामा भित्र्याएको छ । बिहीबार अस्पतालमा आयोजित एक औपचारिक कार्यक्रमका बीच नवनियुक्त चिकित्सकहरूलाई अस्पताल परिवारले स्वागत गरेको हो ।

अस्पतालमा आबद्ध हुने विशेषज्ञ चिकित्सकहरूमा हर्मोन तथा मधुमेह रोग विशेषज्ञ (अन्तःस्राव रोग विशेषज्ञ) डा. अन्जल बिष्ट, नसा तथा मस्तिष्क रोग विशेषज्ञ (स्नायु रोग विशेषज्ञ) डा. जयराम लामिछाने र मिर्गौला रोग विशेषज्ञ डा. मनोज अर्याल रहनुभएको छ ।
स्वागत कार्यक्रममा बोल्दै अस्पताल प्रशासनले विशिष्टीकृत स्वास्थ्य सेवा विस्तार र विशेषज्ञ चिकित्सकहरूको व्यवस्था गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा भूमिका खेल्ने सम्बन्धित मन्त्रालय, सरोकारवाला निकाय, जनप्रतिनिधि र सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
अति विशिष्ट चिकित्सकहरूको आगमनसँगै अब झापा तथा आसपासका क्षेत्रका नागरिकहरूले जटिल एवं विशिष्ट स्वास्थ्य सेवाका लागि जिल्ला बाहिर वा भारततर्फ जानुपर्ने बाध्यता कम हुने र आफ्नै ठाउँमा सहज तथा सुलभ उपचार पाउने विश्वास अस्पताल परिवारले लिएको छ । कार्यक्रममा नवनियुक्त चिकित्सकहरूलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गरिएको थियो ।







प्रतिक्रिया