Banner news

काठमाडौंमाथि रोमाञ्चक जित निकाल्दै सुदूरपश्चिम एनपीएलको प्लेअफमा

काठमाडौंमाथि रोमाञ्चक जित निकाल्दै सुदूरपश्चिम एनपीएलको प्लेअफमा


काठमाडौं । सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा स्थान पक्का गरेको छ । कीर्तिपुरमा आज भएको पहिलो खेलमा काठमाडौं गोर्खाजमाथि ७ रनको रोमाञ्चक जित दर्ता गर्दै अंक तालिकाको शीर्ष चारमा स्थान ओगटेको हो । काठमाडौंले भने प्लेअफका लागि अन्य खेल कुर्नुपर्ने भएको छ ।

१२६ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौं गोर्खाजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो। सुदूरपश्चिमका बलरहरूको कसिलो बलिङसामू काठमाडौंले पनि सुरुवातमै दबाब झेल्यो। पावरप्लेमै मुख्य ब्याट्सम्यानहरू गुमाएपछि काठमाडौंका लागि राशिद खान र दुशन हेमन्थाले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए। राशिदले ३१ बलमा ५ चौकासहित अविजित ३५ रन जोडे भने दुशन हेमन्थाले १८ बलमा १ चौका र १ छक्कासहित २१ रन बनाए।

त्यस्तै, साम हेजलेटले ११ रन, सन्तोष यादवले १० रन, मोहम्मद आदिल आलम र कप्तान करण केसीले समान ८-८ रन बनाए भने जाहांदद खान ५ रनमा अविजित रहे। अन्य ब्याट्सम्यानहरूले दोहोरो अंकमा रन जोड्न नसक्दा काठमाडौं लक्ष्यभन्दा ७ रनले पछि पर्‍यो।

सुदूरपश्चिमको जितमा बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। अनिल खरेलले ४ ओभरमा १८ रन खर्चेर सर्वाधिक २ विकेट हात पारे। यस्तै, स्कट कुगेलेइन, हेमन्त धामी र फेबियन एलनले समान १-१ विकेट लिएर काठमाडौंका ब्याट्सम्यानहरूलाई खुलेर खेल्न दिएनन्।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन जोडेको थियाे ।

मात्र ८ रन जोड्दा आफ्ना सुरुवाती ४ महत्त्वपूर्ण विकेट गुमाएर अत्यन्तै दयनीय स्थितिमा पुगेको सुदूरपश्चिमको इनिङ्सलाई कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट अर्धशतक प्रहार गर्दै एक्लै उकासेका थिए ।दीपेन्द्रले ५५ बलमा ५ चौका र २ छक्कासहित ६० रनको महत्वपूर्ण योगदान दिए।

त्यस्तै, थरिन्दु रत्नायाकेले २३ बलमा ३ चौकासहित अविजित २६ रन बनाए भने आरिफ शेखले १६ रन जोडे। स्कट कुगेलेइन ६ रन, विनोद भण्डारी १ रन, ब्रान्डन म्याकमुलन र इशान पाण्डे शून्यमै आउट भएका थिए ।

काठमाडौंका लागि बलिङतर्फ जाहांदद खानले ४ ओभरमा १ मेडन राख्दै २२ रन खर्चेर सर्वाधिक ३ विकेट हात पारे भने सन्तोष यादवले ३ ओभरमा १६ रन दिएर २ विकेट लिएका थिए ।

शेयर गर्नुहोस :

81
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu