शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ। अभियानको पहिलो दिन शिवसताक्षी नगरपालिका–६ स्थित शिवगञ्ज बजारमा र्याली तथा बजार परिक्रमासहित कार्यक्रमको उद्घाटन गरिएको हो।
लैंगिक हिंसाको अन्त्य, लैंगिक समानताको प्रवर्द्धन तथा सुरक्षित र हिंसामुक्त समाज निर्माणको सन्देश प्रवाह गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
कार्यक्रममा नगरप्रमुख मेगाहाङ थोप्राले लैंगिक हिंसा अन्त्यको सुरुवात आफ्नै घरबाट गर्नुपर्ने बताउनुभयो। उहाँले लैंगिक हिंसाविरुद्ध सबैले आ–आफ्नो ठाउँबाट आवाज उठाइरहे पनि घरपरिवारभित्रै हुने विभेद र हिंसा अन्त्य गर्न सके अभियानको प्रभावकारिता अझ बढ्ने धारणा व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “हामी सबैले लैंगिक हिंसाविरुद्ध काम गरिरहेका हुन्छौँ। तर यसको अन्त्य आफ्नै घरबाट सुरु गर्ने हो भने त्यसको प्रभावकारिता अझ बढी देखिन्छ।”
कार्यक्रममा विद्यार्थीहरूले सन्थाल नृत्य प्रस्तुत गरेका थिए भने नगरपालिकाका कर्मचारीहरूले स्वागत नृत्यमार्फत सहभागीलाई स्वागत गरेका थिए। विद्यार्थीहरूले लैंगिक हिंसाविरुद्धका विभिन्न सन्देशमूलक नारा लेखिएका प्लेकार्ड बोकेर बजार परिक्रमा गरेका थिए।
बजार परिक्रमामा नगरपालिकाका जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, महिला समूह, विद्यार्थी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
कार्यक्रममा नगरपालिकाका योजना अधिकृत प्रकाशचन्द्र चौधरी, वडा नम्बर ६ का वडाध्यक्ष मनोज खुलाललगायतले अभियानको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
शिवसताक्षी नगरपालिका कार्यपालिका सदस्य तथा नगरस्तरीय महिला समितिकी संयोजक यसोदा विमलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख देविना पराजुलीले गर्नुभएको थियो।लैगिंक हिंसा विरुद्ध अभियान शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजना तथा शिवसताक्षी नगरपालिका नगर स्तरीय महिला समिति, कारितास नेपाल र नेपाल प्रहरीको समन्वयमा भएको थियो ।
विश्वव्यापी अभियानको सुरुवात र नेपालमा यसको इतिहास
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान विश्वव्यापी रूपमा सन् १९९१ देखि सुरु भएको हो। अमेरिकाको सेन्टर फर वुमन्स ग्लोबल लिडरसिपको आयोजनामा भएको पहिलो महिला विश्व नेतृत्व संस्थान (Women’s Global Leadership Institute) मा सहभागी महिला अधिकारकर्मीहरूले यो अभियानको सुरुवात गरेका थिए।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने यस अभियानको पहिलो दिन नोभेम्बर २५ लाई महिला हिंसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस र अन्तिम दिन डिसेम्बर १० लाई अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका रूपमा मनाइन्छ।
नेपालमा भने सन् १९९७ अर्थात् वि.सं. २०५४ देखि लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउन थालिएको हो। नेपाल सरकारले वि.सं. २०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद् बैठकबाट हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।
यस अभियानमार्फत महिला तथा बालिकामाथि हुने हिंसा, घरेलु हिंसा, यौनजन्य दुर्व्यवहार, विभेद तथा अन्य लैंगिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्दै हिंसामुक्त समाज निर्माणका लागि विश्वभर विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्।







प्रतिक्रिया