‘सिद्धबाबा’ आईसीयूबाटै प्रहरीको नियन्त्रणमा
विराटनगर । करणीको आरोप लागेका कृष्णराज गिरी उर्फ कृष्णदासजी महाराज (सिद्धबाबा)लाई प्रहरीले एकाबिहानै नियन्त्रणमा लिएको छ । प्रहरीको टोलीले उनलाई अस्पतालको आईसीयूबाटै नियन्त्रणमा लिएको हो ।

बिरामी भएको बहाना बनाएर विराटनगरस्थित विराट नर्सिङ होमको आइसीयूमा रहेका ‘सिद्धबाबा’लाई सोमबार बिहान चार बजे सुनसरीका डीएसपी विनोद शर्माको नेतृत्वमा गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार कृष्णदासलाई एम्बुलेन्समा राखेर जिल्ला प्रहरी कार्यालय, सुनसरी र्पुयाइएको छ । दिउँसो पक्राउ गर्दा बाबाका समर्थकको भीड लाग्ने र अवरोध सिर्जना हुन सक्ने अड्कल गरी प्रहरीले छापामार शैलीमा एकाबिहानै पक्राउ गरेको बताइएको छ ।
करणीको आरोप लागेका सिद्धबाबा हृदयघात भएको भन्दै विराट नर्सिङ होममा भर्ना भएका थिए । आफ्नै महिला अनुयायीलाई जबरजस्ती करणी गरेको आरोप उनीमााथि लागेको छ ।
काठमाडौंबाट चतराधाम पुगेकी एक महिला अनुयायीलाई गत कात्तिक ४ गते जबरजस्ती करणी गरेको भन्दै पीडित महिलाले सुनसरी जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन् ।
उजुरी दर्ता भएपछि कृष्णदासले महिलालाई गरेको फोन रेर्कडमा पटक(पटक आँफूबाट गल्ती भएकाले क्षमा माग्दै कारवाही रोक्न आग्रह गरिरहेको अडियो रेकर्ड न्युज २४ लाइ प्राप्त भएको छ । पीडित महिलाको उजुरीपछि कृष्णदास बिरामी भएको भन्दै विराटनगरको विराट नर्सिङ होममा भर्ना भएका हुन् ।
जबरजस्ती करणीको आरोप लागेका सिद्धबाबा विगतदेखि कहिले दोहोरो नागरिकता त कहिले सार्वजनिक जग्गा मिचेको लगायत विभिन्न विवादमा तानिँदै आएका छन् ।
खबर न्युज २४ बाट