मुख्य समाचार

अनुसन्धानमा आधारित शिक्षा आवश्यक : उपकुलपति अर्याल

अनुसन्धानमा आधारित शिक्षा आवश्यक : उपकुलपति अर्याल


गण्डकी । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले अनुसन्धानमा आधारित शिक्षा आवश्यक हुनेमा जोड दिनुभएको छ ।

पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायको आयोजना एवम् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगमा सञ्चालित तीनदिने स्वास्थ्य अनुसन्धान पद्धतिसम्बन्धी तालिमको उद्घाटन गर्दै उहाँले अनुसन्धानले नयाँ सोच, ज्ञान र परिवर्तनको विकास गर्ने उल्लेख गर्नुभयो । लेखेर, घोकेर, अनुकरण गरेर हासिल हुने शिक्षाले समाज परिवर्तन गर्न नसक्ने उल्लेख गर्दै उहाँले प्राज्ञिक उन्नयन र व्यक्तित्व विकासका लागि विश्वविद्यालय शिक्षा रचनात्मक र अनुसन्धानमुखी हुनुपर्नेमा जोड दिनुभयो ।

पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा दीपकबहादुर भण्डारीले शिक्षक राष्ट्रको प्रबुद्ध वर्गमा पर्ने उल्लेख गर्दै पढ्ने पढाउने मात्र नभई उसले सभ्य र अनुशासित जनशक्ति उत्पादनतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । अनुसन्धानमा विश्वसनीयता र नवीनता हुनुपर्ने उल्लेख गर्दै उहाँले अनुसन्धान प्रस्ताव डिग्री हासिल गर्नेतर्फ मात्र नभई पाठ्यक्रम निर्माण र जनस्वास्थ्य परियोजना भित्र्याउनेतर्फ पनि केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विश्वविद्यालयका मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन सह प्रा डा अजय थापा, स्वास्थ्य विज्ञान सङ्कायका डिन सह प्रा डा अमर नागिला, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवाली, स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेजका स्कुल निर्देशक उपप्रा बिमला भट्ट लगायतले अनुसन्धानको महत्व लगायतमा बोल्नुभयो ।

विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालका अनुसार स्वास्थ्य प्रणाली अनुसन्धान प्रस्ताव विकासमा स्वास्थ्यकर्मीको ज्ञान तथा सीप वृद्धि गरी उनीहरूलाई स्वास्थ्य अनुसन्धान प्रक्रियाका बारेमा परिचित गराउने उद्देश्यका साथ कार्यशाला आयोजना गरिएको हो ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu