मुख्य समाचार

एसइई नतिजा : मध्यम विद्यार्थीलाई उत्कृष्टमा लान शिक्षाविद्कोे सुझाव

एसइई नतिजा : मध्यम विद्यार्थीलाई उत्कृष्टमा लान शिक्षाविद्कोे सुझाव

A girl reacts to her SLC score as others anxiously look on at their mobile phones after the Office of the Controller of Examinations published the results of the School Leaving Certificate exams, in Sano Thimi, Bhaktapur, on Thursday, June 16, 2016. Photo: THT

काठमाडौँ, २१ असार (रासस) :  माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफल समग्रमा सुधारोन्मुख हुनुमा शिक्षक–विद्यार्थीको मेहनत र अभिभावकको जागरुकता मुख्य कारण रहेको शिक्षाविद् र शिक्षाकर्मीहरूको बुझाइ रहेको छ । साथै उनीहरूले मध्यमस्तरका विद्यार्थीलाई उत्कृष्टमा उकास्ने चुनौती कायमै रहेकाले त्यस प्रकारको योजना ल्याउन ध्यान दिन आग्रह गरेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले संवत् २०७९ को एसइईको नतिजा आज सार्वजनिक गरेपछि प्रारम्भिक विश्लेषणको प्रतिक्रिया दिँदै विज्ञहरूले माथिल्लो ग्रेडमा विद्यार्थी केही वृद्धि भए मध्यम ग्रेडमा धेरै विद्यार्थी रहेको देखिएले आगामी दिनमा पठपाठनमा सुधार्न सुझाएका हुन् । शिक्षाविद् डा मनप्रसाद वाग्लेले मध्यम विद्यार्थीलाई उत्कृष्टमा उकास्ने योजना आवश्यक रहेको प्रतिक्रिया दिनुभयो ।

प्रकाशित नतिजाअनुसार स्तरीकृत अङ्क (जिपिए) दुईदेखि दुई दशमलव ४० सम्म यस वर्ष सबैभन्दा धेरै एक लाख २२ हजार ९३ विद्यार्थी अर्थात् २१ दशमलव ०९ विद्यार्थी छन् भने जिपिए तीन दशमलव २० देखि तीन दशमलव ६० अन्तरमा ५५ हजार ६९ अर्थात् ११ दशमलव ३६ प्रतिशत छन् । जिपिए तीन दशमलव ६० देखि चार अन्तरमा यस वर्ष २२ हजार चार सय ७५ अर्थात् चार दशमलव ६३ प्रतिशत विद्यार्थी छन् । यी सबै स्तरीकृत अङ्कमा अघिल्लो वर्षको भन्दा नतिजा सुध्रिएको छ । प्रयोगात्मक भएका अङ्ग्रेजी, नेपाली र विज्ञानमा विषयमा विद्यार्थीले झन् राम्रो नतिजा ल्याउन सफल भएका छन् भने प्रयोगात्मक नभएको गणितमा धेरै विद्यार्थीको कमजोर रहेको देखिएको छ ।

शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले परीक्षाफललाई सरसर्ती हेर्दा स्थानीय तह र विद्यालयहरूमा एक प्रकारको सुधारको जागरण आएको देखिएको बताउँदै आगामी दिनमा एउटा स्थानीय तह र अर्काे स्थानीय तह तथा एक विद्यालय र अर्काे विद्यालयबीच प्रतिस्पर्धा गराउँदै हरेक केटाकेटीलाई प्रविधि र सिकाइसँग जोड्न शिक्षकलाई स्तरोन्नति गर्न सक्ने हो भने अझै नतिजा वृद्धि हुने बताउनुभयो ।

काठमाडौँ विश्वविद्यालय ‘स्कुल अफ एजुकेशन’का डीन एवं शिक्षाविद् डा बालचन्द्र लुइँटेलले कोभिडपछि शिक्षा सुधार्ने चिन्तनका साथ जसरी स्थानीय तह लागे, त्यसले सार्वजनिक विद्यालयमा राम्रो पढाइ हुन थालेको नतिजाले देखाएको बताउनुभयो । “परीक्षा प्रणालीमा सुधर्ने र लापरवाही नहुने कुराले पनि सकारात्मक प्रभाव पारेको छ । प्रश्नपत्र रचनात्मक हुनेतर्फ उन्मुख छ तर सुधारका प्रयत्न समानरूपमा भएको छैन भन्ने देखिन्छ”, डा लुइँटेलले भन्नुभयो, “जान्ने समूहको विद्यार्थी अझ जान्ने भयो भने नजान्ने समूह नजान्ने नै छ । तल्ला ग्रेडमा रहेका विद्यार्थी, जो दुर्गमका वा सरकारी विद्यालयका पनि कमजोर छन्, उनीहरूको परीक्षाफल सुधार हुन नसकेको अनुमान गर्न सकिन्छ ।”

उहाँले नतिजा र स्रोत साधनको अन्तरसम्बन्ध मिलेर शिक्षक दरबन्दी पर्याप्त भएका विद्यालयले तथा शिक्षा सुधारमा प्राथमिकता दिएका स्थानीय तहको समग्र नतिजा रामै्र देखिएको बताउनुभयो ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधरका बुझाइमा सामुदायिक विद्यालयको अवस्था सुधारोन्मुख हुनुमा विद्यालय व्यवस्थापन समितिको जागरुकता, शिक्षकको मेहनत र समुदायले विद्यालयलाई हेर्ने सकारात्मक दृष्टिकोण एवं सरकारको विद्यालय क्षेत्र सुधार हुँदै विद्यालय शिक्षा क्षेत्र सुधार कार्यक्रमको थालनीले प्रभाव पारेको छ । “कोभिडपछि भौतिक उपस्थितिमिा विद्यालयमा पढ्न पाउँदा अभिभावक र विद्यार्थीहरू उत्साहित भएको र कोभिडका समयमा सञ्चार प्रविधिबाट पढ्दा खेप्नुपरेको हैरानीको राम्रो क्षतिपूर्ति मिलेको अनुभव भएको छ”, नतिजाको सुधारबारे अध्यक्ष तुलाधरले राससलाई सुनाउनुभयो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)का अध्यक्ष डिके ढुङ्गानाले सुधारोन्मुख नतिजाप्रति सन्तोष व्यक्त गर्दै कक्षाकोठाको सिकाइलाई केन्द्रित गर्दै परीक्षा प्रणालीलाई अझै सुधार्न आग्रह गर्नुभयो । प्रयोगात्मक नम्बरको बलको आधारमा मात्रै नभई सैद्धान्तिक ज्ञानबारे राम्रोसँग पढेमा मात्रै राम्रो नतिजा आउँछ भन्ने बुझाइ स्थापित गर्नतिर लाग्नुपर्ने अध्यक्ष ढुङ्गानको जोड रहेको छ ।

शेयर गर्नुहोस :

0
Shares