Banner news

सिक्किममा सुरूङ भासिँदा मृत्यु भएका आठ जनाको शव निकालियो

सिक्किममा सुरूङ भासिँदा मृत्यु भएका आठ जनाको शव निकालियो


सिक्किम। भारतको सिक्किमस्थित निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या आठ पुगेको छ। उद्धारकर्ताले सुरुङभित्रबाट आठ जनाको शव बाहिर निकालेका छन् भने अझै करिब २५ जना कामदार भित्रै फसेको आशंका गरिएको हो।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार नाम्ची जिल्लाको समरदुङ क्षेत्रमा निर्माणाधीन एनएचपीसीको टिस्टा जलविद्युत् परियोजनाको सुरुङ सोमबार एक्कासि भत्किँदा प्रवेशमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। त्यसपछि सुरुङभित्र रहेका कामदारहरू बाहिर निस्कन सकेका छैनन्।

नाम्ची जिल्लाकी उपायुक्त अनुपा ताम्लिङका अनुसार प्रारम्भिक विवरणअनुसार कम्तीमा २५ जना अझै सुरुङभित्र फसेका हुन सक्ने अनुमान गरिएको छ। उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न उद्धार टोलीले निरन्तर प्रयास गरिरहेको उनले बताइन्।

उद्धार कार्यमा कठिनाइ भइरहेको उल्लेख गर्दै ताम्लिङले सुरुङभित्र गहिरो स्थानमा कामदारहरू फसेको, अक्सिजनको कमी र ग्यास चुहावटजस्ता चुनौतीका कारण उद्धार अभियान जोखिमपूर्ण बनेको जानकारी दिइन्।

सुरुङभित्र फसेकाहरूको उद्धारका लागि सम्बन्धित निकाय, सुरक्षा टोली र प्राविधिक जनशक्ति परिचालन गरिएको छ। अधिकारीहरूले सबै सम्भावित उपाय अपनाएर उद्धार कार्यलाई तीव्रता दिइरहेको बताएका छन्।

शेयर गर्नुहोस :

135
Shares