मुख्य समाचार

शिवसताक्षीमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम

शिवसताक्षीमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम


शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा विद्यालयस्तरबाट लागुऔषध दुव्र्यसन नियन्त्रण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले सचेतना कार्यक्रम तथा सचेतनामूलक ब्यानर वितरण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको आयोजनामा तथा शिवसताक्षी नगरपालिकाको समन्वयमा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरू सहभागी भएका थिए। कार्यक्रममा लागुऔषध दुव्र्यसनको बढ्दो जोखिम, यसको रोकथामका उपाय तथा विद्यालयको भूमिकाबारे विस्तृत जानकारी दिइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले लागुऔषधविरुद्धको अभियान विद्यालय र घर–परिवार दुवै तहबाट सशक्त रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले लागुऔषध दुव्र्यसनमा फसेर सुधार केन्द्रबाट फर्किएका युवाप्रति समाजले गर्ने विभेदपूर्ण व्यवहारका कारण उनीहरू पुनः दुव्र्यसनतर्फ आकर्षित हुने अवस्था देखिएको उल्लेख गर्दै पुनःस्थापनामा समुदायको सकारात्मक भूमिका आवश्यक रहेको बताउनुभयो ।

नगरप्रमुख थोप्राले बालबालिका तथा युवालाई दुव्र्यसनबाट टाढा राख्न नगरपालिकाले विभिन्न खेलकुद प्रतियोगिता, सिर्जनात्मक कार्यक्रम तथा पठन संस्कृतिको विकासका लागि ‘ज्ञानघर’ अवधारणा अघि बढाएको जानकारी दिनुभयो । ज्ञानघरको उद्देश्य बालबालिका, युवा तथा ज्येष्ठ नागरिकलाई पुस्तक, पत्रपत्रिका र अध्ययन सामग्रीमार्फत सिर्जनात्मक वातावरण उपलब्ध गराउनु रहेको उल्लेख गर्दै यसको उद्देश्य नबुझी गरिने आलोचनाले समाजमा नकारात्मक सन्देश जाने उहाँको भनाइ थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गत आर्थिक वर्षमा लागुऔषध सेवन तथा ओसारपसारसम्बन्धी कसुरमा ६३५ जना विरुद्ध मुद्दा दर्ता गरिएको छ । तीमध्ये १० जना शिवसताक्षी नगरपालिकाका रहेका छन् । झापाका १५ स्थानीय तहमध्ये लागुऔषधसम्बन्धी घटनाको आधारमा शिवसताक्षी आठौँ स्थानमा रहेको प्रहरीको तथ्यांकले देखाएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले लागुऔषध नियन्त्रण प्रहरीको मात्र जिम्मेवारी नभएको स्पष्ट पार्नुभयो । उहाँले झापामा यससम्बन्धी धेरै सचेतनामूलक कार्यक्रम सञ्चालन भए पनि अपेक्षाअनुसार उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्दै विद्यालय, अभिभावक, नागरिक समाज, स्थानीय तह र प्रहरीबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभयो ।

उहाँले विद्यालय बालबालिकाले घरपछि सबैभन्दा धेरै समय बिताउने र सिकाइ गर्ने थलो भएकाले शिक्षकहरूले नियमित पठनपाठनसँगै लागुऔषध दुव्र्यसनका असर, कानुनी प्रावधान र बच्ने उपायबारे विद्यार्थीलाई निरन्तर सचेत गराउनुपर्नेमा जोड दिनुभयो ।

यसै अवसरमा ‘स्थानीय तह र प्रहरी सम्पर्क कार्यक्रम’ सम्बन्धी पुस्तकको विमोचन गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापा र शिवसताक्षी नगरपालिकाको साझेदारीमा तयार गरिएको उक्त पुस्तकमा लागुऔषधविरुद्धको सचेतना, ट्राफिक नियम, कानुनी व्यवस्था तथा नागरिक सचेतनासम्बन्धी सामग्री समावेश गरिएको छ । सो पुस्तक नगरका सबै विद्यालयमा वितरण गरिने जनाइएको छ। साथै, विद्यालय परिसरमा राख्नका लागि लागुऔषधविरुद्धका सचेतनामूलक ब्यानरसमेत हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा प्याब्सन शिवसताक्षीका अध्यक्ष रामप्रसाद सुहाङ, मेची अंग्रेजी बोर्डिङ स्कुलका प्रिन्सिपल पदमजंग कुँवरलगायतले लागुऔषध नियन्त्रण, विद्यालयको जिम्मेवारी तथा विद्यार्थीमा बढ्दो जोखिमका विषयमा जिज्ञासा राखेका थिए ।

नगर उपप्रमुख नरमाया कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाङ्फेले गर्नुभएको थियो भने सञ्चालन शिक्षा शाखा प्रमुख छवि ढकालले गर्नुभएको थियो ।

शेयर गर्नुहोस :

0
Shares