बिर्तामोड-शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारणसभाअन्तर्गत इकाइगत सभा जारी छ । सोमबार अर्जुनधारा, शनिश्चरे र खुदुनाबारीलाई समेटिएको इकाइ नम्बर १ को सभा सम्पन्न भएकोमा मंगलबार दुर्गापुर सेवा केन्द्रमा इकाइगत साधारणसभा गरिएको छ ।
संस्थाको इकाइ नम्बर १ को सभामा उत्कृष्ट बचत तथा कारोबारतर्फ तीन सदस्यलाई सम्मान गरिएको थियो । उत्कृष्ट आवधिक बचतकर्ताका रूपमा भेषराज पनेरु, उत्कृष्ट शिक्षा बचतकर्ताका रूपमा अंकित आचार्य र उत्कृष्ट कारोबारकर्ताका रूपमा लीलादेवी बराल सम्मानित भएका थिए ।
मंगलबार दुर्गापुर सेवा केन्द्रमा आयोजित इकाइगत सभामा भने चार सदस्यलाई सम्मान गरिएको छ । संस्थाका सचिव युवराज निरौलाका अनुसार उत्कृष्ट बाल बचतकर्ताका रूपमा दक्षता अधिकारी र शिक्षिता अधिकारी, उत्कृष्ट आवधिक बचतकर्ताका रूपमा तिलक बयलकोटी तथा उत्कृष्ट कर्जा कारोबारकर्ताका रूपमा राजकुमारी चौधरी सम्मानित भए ।
संस्थाका अध्यक्ष सुब्रत न्यौपाने, लेखा समिति संयोजक सूर्यकुमार खतिवडा र उपाध्यक्ष हेमराज मिश्रले उनीहरूलाई नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

संस्थाका अध्यक्ष न्यौपानेले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शेयर पुँजी ३ करोड ५१ लाख ७४ हजार १ सय रुपैयाँ पुगेको जानकारी दिएका छन् ।
संस्थाको कोष हिसाब २ करोड ३७ लाख ५ हजार ४ सय, बचत संकलन २२ करोड ५१ लाख २५ हजार ५ सय ४८ र लगानीमा रहेको रकम १७ करोड ६१ लाख ७८ हजार ३ सय ४४ रुपैयाँ रहेको उनले बताए ।
संस्थाले चालु आर्थिक वर्षमा बचत संकलन २५ करोड रुपैयाँ र ऋण लगानी २० करोड ६० लाख ७५ हजार रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । त्यस्तै, ६ सय १२ जना नयाँ सदस्य थप्ने लक्ष्यसमेत राखिएको छ ।
ऋण उपसमिति संयोजकसमेत रहेका उपाध्यक्ष हेमराज मिश्रका अनुसार संस्थाले ६ सय ९२ जना ऋणी सदस्यलाई १८ करोड ४७ लाख २५ हजार ९ सय ५६ रुपैयाँ ऋण लगानी गरेको छ । उक्त ऋणबाट २ करोड २६ लाख ५९ हजार ९ सय ६८ रुपैयाँ ब्याज आम्दानी भएको उनले जानकारी दिए ।
लेखा समिति संयोजक खतिवडाले शेयर पुँजी र बचत संकलनमा भएको वृद्धिले संस्था थप मजबुत बन्दै गएको बताए । सदस्यको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्ने, सदस्यको आर्थिक क्षमता अभिवृद्धिमा सहयोग गर्ने र वित्तीय अनुशासनलाई थप प्रभावकारी बनाउने संस्थाको आगामी प्राथमिकता रहेको उनको भनाइ छ ।
शिक्षा बहुउद्देश्यीय सहकारीको व्यवस्थापनमा बिर्तामोड-२ मा शिक्षा शिकोप निकेतन विद्यालयसमेत सञ्चालनमा छ । विद्यालयका लागि संस्थाको आफ्नै १० कठ्ठा जग्गा रहेको जनाइएको छ ।
इकाइगत साधारणसभा विभिन्न सेवा केन्द्रलाई समेटेर सञ्चालन भइरहेको संस्थाले जनाएको छ । सभामार्फत सदस्यलाई संस्थाको आर्थिक अवस्था, वार्षिक प्रगति, आगामी योजना तथा वित्तीय गतिविधिबारे जानकारी गराइँदै आएको छ ।








प्रतिक्रिया