बिर्तामोड । सरकारी तथा राजनीतिक पदको दुरुपयोग गरी विभिन्न कार्यालय र संघ–संस्थामा धाकधम्की दिने सुजन विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ ।
झापा हल्दिबारी गाउँपालिका वडा नं. १ बस्ने वर्ष २६ का सुजन विश्वकर्माले आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य रहेको भनी झूटो परिचय दिने गरेका थिए ।

उनी विभिन्न सरकारी कार्यालय, बैठक तथा शैक्षिक संस्थाहरूमा प्रवेश गरी सोही नक्कली परिचयका आधारमा दबाब तथा धाकधम्की दिँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उनको यो गैरकानूनी गतिविधि र दाबी गरिएको पद तथा जिम्मेवारी वास्तविक नभएको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस विषयमा झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । साथै, उक्त व्यक्तिले कसैलाई पनि झूटो परिचय दिई कुनै प्रकारको लाभ लिएको वा कसैलाई हानि–नोक्सानी पुर्याएको भए जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क राख्न अनुरोध गरिएको छ ।








प्रतिक्रिया