बिर्तामोड

झापा इक्यानलाई लिडर्स मिट ३.० को अवसर

झापा इक्यानलाई लिडर्स मिट ३.० को अवसर


बिर्तामोड । इक्यान झापा शाखाको आतिथ्यमा असोज २ देखि ४ गतेसम्म बिर्तामोडमा इक्यान लिडर्स मिट ३.० आयोजना हुने भएको छ ।

इक्यान लिडर्स मिट ३.० को आयोजना नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले गरेको हो । कास्कीमा गर्ने भनिएको उक्त कार्यक्रमका लागि आतिथ्यको अवसर झापा शाखाले पाएको छ । झापा शाखाका अध्यक्ष राज कार्कीले इक्यान लिडर्स मिट ३.० लाई सभ्य र भव्य बनाइने जानकारी दिए ।

अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा कार्यरत संस्थाहरूको नेतृत्व क्षमता विकास, संस्थागत सुदृढीकरण तथा राष्ट्रिय भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले ‘इक्यान लिडर्स मिट ३.०’ आयोजना गर्ने भएको आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

इक्यानको देशव्यापी नेतृत्वलाई एउटै राष्ट्रिय मञ्चमा ल्याउने उद्देश्यले आयोजना हुँदै आएको लिडर्स मिटको यो तेस्रो संस्करण हो । कार्यक्रममा इक्यान केन्द्र, शाखा तथा समन्वय संरचनामा रहेका नेतृत्व तहका प्रतिनिधिहरूको सहभागिता रहनेछ । नेतृत्व विकास, संस्थागत सुशासन, रणनीतिक संवाद, अनुभव आदानप्रदान तथा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा नेपालको भूमिकालगायत विषयमा गहन छलफल र अन्तरक्रिया गरिने आयोजकले जनाएको छ ।

लिडर्स मिटमा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा भइरहेको परिवर्तन, विद्यार्थीको विदेश अध्ययन, उच्च शिक्षाका लागि गन्तव्य छनोट, अन्तर्राष्ट्रिय विश्वविद्यालयसँगको सम्बन्ध, विद्यार्थी आवागमन, डिजिटल प्रविधि तथा गन्तव्य मुलुकका बदलिँदा शिक्षा र अध्यागमन नीतिका विषयमा छलफल हुनेछ । त्यस्तै शैक्षिक परामर्श व्यवसायलाई थप व्यावसायिक, पारदर्शी र जिम्मेवार बनाउने विषयले समेत प्राथमिकता पाउनेछ ।

अन्तर्राष्ट्रिय विद्यार्थी आवागमन विदेशमा अध्ययन गर्ने विषयमा मात्र सीमित नरही मानव पूँजी, सीप, रोजगारी, ज्ञान हस्तान्तरण, आर्थिक गतिविधि तथा अन्तर्राष्ट्रिय सम्बन्धसँग जोडिएको व्यापक विश्वव्यापी शैक्षिक आवागमनका रूपमा विकसित भइरहेको सन्दर्भमा नेपालले लिनुपर्ने रणनीतिक भूमिकाबारे पनि कार्यक्रममा बहस गरिनेछ ।

उक्त इक्यान लिडर्स मिट ३.० मा ‘झापा घोषणापत्र’ जारी गरिने छ । घोषणापत्रमार्फत विश्वव्यापी शैक्षिक आवागमनमा नेपालको वर्तमान अवस्था, सम्भावना, चुनौती, राष्ट्रिय हित तथा आगामी दिशाबारे इक्यानको संस्थागत दृष्टिकोण सार्वजनिक गरिने इक्यानका केन्द्रीय द्वितिय सचिव आशिक कार्कीले जानकारी दिए ।

कार्यक्रममा देशभरबाट करिब १५० जना नेतृत्व तहका प्रतिनिधि सहभागी हुनेछन् । बिर्तामोडस्थित द किङ्सबरी होटलमा हुने मुख्य कार्यक्रममा नेतृत्व विकास, सीप, वित्तीय व्यवस्थापन, संस्थागत सुशासन, रणनीतिक सोच तथा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका समसामयिक विषयमा प्रशिक्षण र अन्तरक्रिया गरिने जनाइएको छ ।

शेयर गर्नुहोस :

0
Shares