काठमाडौं, ३० भदौ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मङ्गलबार अपराह्न १ बजे बस्दै छ। आजको बैठकमा मन्त्रालयगत मौखिक प्रश्नको उत्तर दिने र अन्तर्राष्ट्रिय सम्झौता अनुमोदनसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।
संसद् सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालयका साथै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीले दिने कार्यक्रम रहेको छ।
यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्मिलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नेछिन्।
प्रतिनिधिसभा बैठकका अलावा आज संसद्का विभिन्न विषयगत समितिका बैठकहरू पनि बस्दै छन्। जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने कार्यसूची रहेको छ।








प्रतिक्रिया