तस्वीर साँचो होइन, एआई जेनेरेट हो – एसपी खड्का
झापा । प्रहरी हिरासतमा रहेका हल्दिवारी – १ का सुजन विश्वकर्माले प्रहरी प्रमुखबाट सम्मान पाएको भन्दै आभार व्यक्त गर्न सार्वजनिक गरेको एउटा तस्वीर भाइरल भइरहेको छ । तस्वीरमा झापा प्रहरी प्रमुख बसुन्धरा खड्काले शुभकामना दिदैं गरेको देखिन्छ ।
रास्वपाको केन्द्रीय सदस्य र प्रधानमन्त्री बालेन शाहको सचिवालय सदस्य भएको दाबी गर्दै सरकारी कार्यालय अनुगमन गर्ने विश्वकर्मालाई प्रहरीले हिजै मात्र चन्द्रगढीबाट नियन्त्रणमा लिई अनुसन्धानका लागि ५ दिनको म्याद थप गरेको छ ।
उक्त तस्वीर राखेर विश्वकर्माले लेखेका छन्, – ‘चन्द्रगढी प्रहरी प्रमुखज्यूबाट प्राप्त सम्मानप्रति हार्दिक आभार । यो सम्मान मेरो मात्र होइन, मप्रति विश्वास गर्ने सम्पूर्ण साथीहरूको सम्मान हो । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि प्राप्त सम्मानप्रति हार्दिक आभार, जनताको विश्वासलाई कार्यद्वारा सार्थक बनाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’

रास्वपाका नाममा विभिन्न सरकारी कार्यालयमा अनुगमन समेत गर्दै आएका हल्दिबारी गाउँपालिका–१ का २६ वर्षीय विश्वकर्माको सामाजिक सञ्जालमा रास्वपाका नेताहरुसँगको तस्वीर, महाधिवेशनका गतिविधिहरु, भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खटिएको लगायतका तस्वीरहरु समेत फेला परेको छ ।
रास्वपाको नेताका रुपमा जिल्लाका कार्यालयहरु पुग्ने विश्वकर्मालाई के प्रसंगमा कार्यालय बोलाएर बधाई दिनुभएको भन्ने इजलासको जिज्ञासामा प्रहरी उपरीक्षक खड्काले भनिन्, त्यो तस्वीर बनाइएको अर्थात एआई जेनेरेट हो । उक्त तस्वीर वास्तविक नरहेको उनको दावी छ । उनले फेरि भनिन्, बशुन्धरा कस्तो मान्छे हो ? बुझ्नु भएकै छ । यो तस्वीर साँचो होइन । सो तस्वीरमा उपसभामुख रुवी कुमारी ठाकुरको समेत बधाई लेखिएको कमेन्ट भेटिएको छ ।
सरकारी कार्यालय, शैक्षिक संस्था तथा संघसंस्थामा धम्कीपूर्ण शैलीमा व्यवहार गरेकोमा उनलाई पक्राउ गरी प्रहरीले पाँच दिनको म्याद थप गरेको जनाएको छ ।
प्रहरीका अनुसार विश्वकर्माले आफू सत्तारुढ दल रास्वपाको नेता भएको र प्रधानमन्त्रको सचिवालयमा रहेको बताएपछि सरकारी कार्यालयमा प्रवेश र सार्वजनिक सरोकारका बैठकहरूमा पहुँच पाएका थिए ।
प्रधानमन्त्रीको सचिवालय सदस्य भएको बताएपछि जिल्ला प्रशासन कार्यालयले उनलाई अनुगमनका लागि गाडीसमेत उपलब्ध गराएका थियो । सरकारी गाडी लिएर उनी सरकारी कार्यालय अनुगमनका लागि पुगेको प्रहरी स्रोत बताउँछ । हल्दिबारी गाउँपालिका पुगेर फर्किएपछि उनी पक्राउ परेका हुन् । उनको गतिविधि शंकास्पद देखिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले केन्द्रीय सदस्य नरहेको र प्रधानमन्त्रीको सचिवालयमा पनि नभएको जानकारी पाएपछि पक्राउ गरेको थियो ।

झापा प्रहरीले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘विश्वकर्माले झुटो परिचय दिई कुनै प्रकारको लाभ लिएको वा कसैलाई हानिनोक्सानी पु¥याएको भए जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क गर्नुहोस ।’ उनले फेसबुुकमा राखेको तस्वीरमा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएको समेत भेटिएको छ ।








प्रतिक्रिया