Banner news

झापा प्रहरीले भन्यो – विश्वकर्माले पोष्ट गरेको फोटो ‘एआई’ जेनेरेट

झापा प्रहरीले भन्यो – विश्वकर्माले पोष्ट गरेको फोटो ‘एआई’ जेनेरेट


झापा । जिल्ला प्रहरी कार्यालय झापाले सुजन विश्वकर्माले फेसबुकमा पोष्ट गरेको प्रहरी प्रमुखसँगको तस्वीर एआई भएको स्पष्ट पारेको छ ।

कार्यालय प्रमुखसँग चिनजान तथा निकट सम्बन्ध रहेको देखाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रयोग गरी तस्वीर सम्पादन गरेर सामाजिक सञ्जालमा भ्रम फैलाउने उद्देश्यले पोष्ट गरेको जिल्ल प्रहरी कार्यालय झापाले विज्ञप्ति मार्फत जानकारी गराएको छ । विश्वकर्मालाई हिजै प्रहरीले चन्द्रगढीबाट पक्राउ गरेको थियो ।

सरकारी तथा राजनीतिक पदको दुरुपयोग गरेको आरोपमा नियन्त्रणमा लिइएका झापाको हल्दिवारी गाउँपालिका वडा नं. १ बस्ने २६ वर्षीय सुजन विश्वकर्माले सोधपुछका क्रममा आफ्नो ‘Sujan Biswokarma’ नामक फेसबुक आईडीमार्फत यस्तो हर्कत गरेको खुल्न आएको हो । उनले गत असार २२ गते कार्यालय प्रमुखसँग निकट सम्बन्ध देखाउने उद्देश्यले विभिन्न एआईबाट सिर्जित (फर्जी) फोटोहरू सामाजिक सञ्जालमा प्रकाशन गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी, प्रहरी निरीक्षक मुन्ना कुमार अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त फोटोसम्बन्धी गरिएको प्रारम्भिक अनुसन्धानबाट सो तस्बिरहरू पूर्ण रूपमा एआई प्रविधिबाट सिर्जना गरिएको र प्रहरी कार्यालय तथा कार्यालय प्रमुखसँग कुनै पनि प्रकारको आधिकारिक सम्बन्ध नरहेको स्पष्ट पारिएको छ ।

प्रहरीले सार्वजनिक व्यक्तित्व, सरकारी निकाय वा पदाधिकारीको नाम, पद तथा छवि दुरुपयोग गरी भ्रमित पार्ने, झूटो प्रचारप्रसार गर्ने तथा सर्वसाधारणलाई दिग्भ्रमित पार्ने कार्य कानुन विपरीत रहेको चेतावनी दिएको छ । यस्ता गतिविधिमा संलग्न जो कोहीलाई पनि प्रचलित कानुन बमोजिम कडाभन्दा कडा कारवाही गरिने व्यहोरा जिल्ला प्रहरी कार्यालय झापाले सम्बन्धित सबैलाई जानकारी गराएको छ ।

शेयर गर्नुहोस :

270
Shares