वेद प्रकाश दवाडी
झापा – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५२ जना शाखा अधिकृतको सरुवा तथा कामकाजका लागि खटाउने निर्णय गरेको छ। मन्त्रालयले २०८३ भदौ ३० गते गरेको निर्णयअनुसार झापाका ६ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत हेरफेर भएका छन्।
कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकाल गृह मन्त्रालय वा अन्तर्गत सरुवा भएका छन्। उनको ठाउँमा पाँचथरको फालेलुङ गाउँपालिकाका सुमन याङ्यालाई कामकाजका लागि खटाइएको छ।
गौरीगञ्जका खेमराज थापा भूमि व्यवस्थापन तथा अभिलेख विभाग, काठमाडौं सरुवा भएका छन् भने उनको ठाउँमा भोजपुरको हतुवागढी गाउँपालिकाका महेश निरौलालाई खटाइएको छ। हल्दीबारीका मानबहादुर बन सूचना तथा सञ्चार मन्त्रालय वा अन्तर्गत सरुवा भएका छन् भने उनको ठाउँमा भोजपुरको पौवादुङ्मा गाउँपालिकाका नवीन भट्टराईलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, कचनकवलका स्काइ पोख्रेल पनि सूचना तथा सञ्चार मन्त्रालय वा अन्तर्गत सरुवा भएका छन्। उनको ठाउँमा ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका विमल गौतमलाई खटाइएको छ। झापा गाउँपालिकाका जनार्दन निरौलालाई पाँचथरको कुम्मायक गाउँपालिकामा सरुवा गरी उनको ठाउँमा सोलुखुम्बुको जिल्ला प्रशासन कार्यालयमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदीलाई खटाइएको छ।
बाह्रदशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया सूचना तथा सञ्चार मन्त्रालय वा अन्तर्गत सरुवा भएका छन्। मन्त्रालयको निर्णयमा बाह्रदशीका लागि नयाँ प्रमुख प्रशासकीय अधिकृतको नाम भने उल्लेख छैन।
यसै निर्णयमा झापामा कार्यरत अन्य कर्मचारीको पनि जिम्मेवारी हेरफेर गरिएको छ। जिल्ला प्रशासन कार्यालय झापाका प्रशासन अधिकृत कमलप्रसाद ढुंगेललाई इलामको फाकफोकथुम गाउँपालिका, दमकस्थित मालपोत कार्यालयका भूमि राजस्व अधिकृत कमल पनेरूलाई पाँचथरको हिलिहाङ गाउँपालिका र झापा कारागारका शाखा अधिकृत रेवन्त भट्टराईलाई इलामको रोङ गाउँपालिकामा खटाइएको छ।








प्रतिक्रिया