किराना पसललाई दुई लाख जरिवाना, शिवम ट्रेडर्सले बेच्यो दोब्बर मूल्यमा काँडेतार
बिर्तामोड । उपभोक्ता जागरण अभियान नेपालले भावी कार्ययोजना सार्वजनिक गरेको छ । मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी अभियानले तीनबुँदे कार्ययोजना सार्वजनिक गरेको हो ।
अभियानका झापा जिल्ला अध्यक्ष शालिकग्राम भट्टराईले उपभोक्ताको हित संरक्षण गर्ने गरी आगामी कार्ययोजना बनाइएको बताउनुभयो ।
कार्ययोजनाअनुसार अभियानले आगामी दुई वर्षभित्र झापाका १५ वटै स्थानीय तहमा पालिका समिति गठन गर्नेछ । अहिले मेचीनगर, अर्जुनधारा र बिर्तामोड नगरपालिकामा मात्रै पालिका समिति गठन भएका छन् ।
अभियानले युवाहरूमा बढ्दो कुलत तथा लागुऔषधको सेवन र प्रयोगलाई न्यूनीकरण गर्न कचनकवलदेखि बाहुनडाँगीसम्म प्लेकार्ड, ब्यानर र नारासहितको सचेतना ¥यालीसमेत आयोजना गरिने जनाएको छ ।
उपभोक्तालाई जागरुक बनाउने एकमात्र उपाय उपभोक्ता शिक्षा भएको बताउँदै अध्यक्ष भट्टराईले प्रत्येक उपभोक्ता आफैँ सचेत हुनुपर्ने बताउनुभयो ।

गुणस्तरीय सेवा र वस्तु उपभोग गर्न पाउनु हरेक उपभोक्ताको अधिकार भएकाले त्यसको सुनिश्चितताका लागि वस्तु तथा सेवा उत्पादक, प्रदायक र विक्रेतालाई उपभोक्ताप्रति जिम्मेवार बनाउन पहल गरिने अभियानको कार्ययोजनामा उल्लेख छ ।
व्यावसायिक क्षेत्रको चरम लापरवाहीको शिकार उपभोक्ता भइरहेका छन् । छिटै पैसा कमाउने कुत्सित मनसायले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गरेका घटना एकपछि अर्को सार्वजनिक भएका छन् । उपभोक्ता जागरण अभियानले पत्रकार सम्मेलनमार्फत जिल्लामा भएका त्यस्ता केही उपभोक्ता हितविरुद्धका व्यावसायिक गतिविधिसमेत सार्वजनिक गरेको छ । सरोकारवाला नियमनकारी निकायको तदारुकताका कारण कतिपय उपभोक्ता ठगी गर्ने व्यवसायीमाथि कारबाहीसमेत भएको छ ।
उपभोक्ता जागरण अभियानका अध्यक्ष भट्टराईले मेचीनगर–९ स्थित दास किराना पसलले गाई–भैँसीलाई खुवाउने दाना म्याद गुज्रिएको अवस्थामा बिक्री गरेको पुष्टि भएपछि स्थानीय प्रशासनले खाद्य सुरक्षा ऐनको दफा ३९(ज) बमोजिम उक्त पसललाई २ लाख रुपैयाँ जरिवाना गरेको बताउनुभयो ।
वीरगञ्जको बायोटेक इन्डस्ट्रिज लिमिटेडले उत्पादन गरेको शक्ति ब्रान्डको पशुदाना म्याद गुज्रिएको अवस्थामा बिक्री वितरण भइरहेको पाइएको थियो । ४९० किलो पशुदाना म्याद गुज्रिएको अवस्थामा फेला परेपछि विक्रेता पसललाई जरिवाना गरिएको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको निर्णयका आधारमा उक्त पसललाई कारबाही गरिएको जनाइएको छ ।
झापाको बुद्धशान्ति–३, बुधबारेस्थित नारायण कडरियाले सञ्चालन गरेको शिवम् ट्रेड एन्ड सप्लायर्सले समेत उपभोक्ता ठगेको विवरण अभियानले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । प्रचलित बजार मूल्यको तुलनामा दोब्बरभन्दा बढी मूल्य लिएर उक्त सप्लायर्सले काँडेतार बेच्ने गरेको खुलेको थियो । प्रमुख जिल्ला अधिकारी पोखरेलको निर्देशनमा तत्कालै अनुगमन गर्दा उक्त सप्लायर्सले बजारमा प्रतिकिलो १२५ रुपैयाँमा पाइने काँडेतार ३६० रुपैयाँसम्ममा बिक्री गरेको भेटिएको अध्यक्ष भट्टराईले बताउनुभयो । यस विषयमा प्रशासनले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
निजी व्यावसायिक संस्थाले मात्रै होइन, सरकारी संस्थाले समेत सर्वसाधारणलाई कसरी ठगिरहेका छन् भन्ने विषय पनि अभियानले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । उदाहरणका लागि प्रादेशिक अस्पताल भद्रपुरले एकजना सेवाग्राहीलाई ठगेको घटनालाई लिन सकिन्छ । उक्त अस्पतालले १ हजार ९५० रुपैयाँको औषधिलाई ६ हजार ८६८ रुपैयाँ लिएको घटना सार्वजनिक भएको थियो । प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि प्रादेशिक अस्पतालले सार्वजनिक रूपमा माफी माग्दै पीडित बिरामीलाई मूल्यबाहेकको बाँकी रकम फिर्ता गरेको छ ।
बिर्तामोड नगरपालिका–९ मा भदौ पहिलो साता न्वारनको भोज खाएका ६० जनाभन्दा बढी स्थानीय बिरामी परेका थिए । कतिपय बिरामीलाई आईसीयूमासमेत राखेर उपचार गर्नुपरेको थियो । बिर्ता बजारस्थित गणेश फ्रेस हाउसबाट खरिद गरिएको कुखुराको मासु खाएपछि अधिकांश बिरामी भएको सार्वजनिक भएको थियो । सरसफाईमा ध्यान नदिँदा अस्वस्थकर मासु उपभोक्ताको भान्सासम्म पुग्ने गरेको यो घटनाले पुष्टि गरेको अध्यक्ष भट्टराईले बताउनुभयो । भोजमा प्रयोग गरिएको तेलको नमुनासमेत हल्दिबारीस्थित किराना पसलबाट संकलन गरिएको छ ।
सर्वसाधारणको स्वास्थ्यसँग खेलबाड गर्दै आएका उत्पादक र व्यवसायी कमै मात्र कारबाहीमा परेका छन् । पछिल्लो समय अभियानका तर्फबाट खबरदारी थालिएको बताउँदै अभियानका जिल्ला उपाध्यक्ष इन्द्रप्रसाद ओलीले बजार अनुगमनका क्रममा अभियानलाई समेत अनिवार्य रूपमा सहभागी गराउनुपर्ने बताउनुभयो ।
उपभोक्ता जागरण अभियानले उपभोक्ता संरक्षण ऐन, २०७५ ले दिएको संवैधानिक तथा कानुनी व्यवस्थाबमोजिम अभियानका रूपमा कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।
अभियानका केन्द्रीय उपाध्यक्ष राजेन्द्र घिमिरे नीतिगत व्यवस्थाका कारण उपभोक्तामाथि निरन्तर ठगीका घटना भइरहेको बताउनुहुन्छ । उहाँले सरोकारवालालाई कुर्सी मात्रै प्यारो भएको बताउँदै मानवीय समस्याका विषयमा कोही पनि संवेदनशील नभएको बताउनुभयो ।








प्रतिक्रिया