बिर्तामोड । झापाको बिर्तामोडमा जेनजी घाइतेले आमरण अनसन सुरु गरेका छन् । अर्जुनधारा – ६ का विवेक दनुवारले सरकारसँग विभिन्न माग राख्दै बिर्तामोडमा आजबाट आमरण अनसन सुरु गरेका हुन् । दनुवारको जेनजी आन्दोलनका क्रममा पेटमा गोली लागेको थियो । अनसनमा उनलाई अन्य घाइतेहरुले साथ दिएका छन् ।

घाइतेहरूलाई निःशुल्क गुणस्तरीय उपचारको व्यवस्था गर्नुपर्ने, हालसम्मको उपचारमा लागेको सम्पूर्ण खर्च राज्यले बेहोर्नु साथै घाइतेहरूको लागि उचित क्षतिपूर्ति तथा जीवनयापनको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।
आमरण अनसनमा घाइते वा घाइतेका परिवार र सहिद परिवारको लागि निःशुल्क शिक्षा प्रदान गर्नुपर्ने, सार्वजनिक यातायातमा घाइतेहरूको लागि विशेष छुटको व्यवस्थापन गर्नुपर्ने, घाइते तथा सहिद परिवारको सम्बोधन गर्न विशेष कानुन निर्माण गर्नुपर्ने माग राखिएको छ ।
सरकारले उनीहरुको माग सम्बोधन नगरेसम्म अनसन जारी रहने जेनजी घाइतेहरुको भनाई छ । जेनजीहरुकै योगदानबाट सरकारमा पुग्नेहरुले घाइतेहरुको माग छिटोभन्दा छिटो पूरा गर्नुपर्ने उनीहरुको धारणा छ । सरकारमा पुगेपछि जेनजी घाइतेको समस्या भुल्न नहुने उनीहरु बताउछन् ।
घाइते जेनजीहरुले मंगलवार साँझ पनि सरकारको कडा आलोचना गर्दै खवरदारी गरेका थिए । जेनजी आन्दोलन रास्वपालाई बहुमतको सरकार बनाउन गरे जस्तो मात्रै भएको उनीहरुको टिप्पणी थियो ।
झापामा १ सय जनाभन्दा धेरै जेनजी आन्दोलनका क्रममा घाइते भएका थिए । त्यसमध्ये ४३ जनाले मात्र परिचय पत्र पाएका छन् ।








प्रतिक्रिया