Banner news

महाधिवेशनको मिति परिवर्तन हुँदैन – कांग्रेस उपसभापति शर्मा

महाधिवेशनको मिति परिवर्तन हुँदैन – कांग्रेस उपसभापति शर्मा


झापा  । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले महाधिवेशनको मिति कुनै पनि अवस्थामा परिवर्तन नहुने बताएका छन् । गृहनगर झापाको धुलाबारीमा आज आयोजित क्षेत्रीय भेलालाई सम्बोधन गर्दै उनले असोजको महाधिवेशनको मिति गत चैत ११ गते नै निर्धारण भएकोले परिवर्तन हुने सम्भावना नै नरहेको स्पष्ट पारे ।

” पार्टी विधान र संविधानमा नै स्पष्ट व्यवस्था भएको महाधिवेशनको समय कसैले चाहादैमा परिवर्तन हुँदैन” उनले भने, ” महाधिवेशन तोकिएको समयमा नै हुन्छ, महाधिवेशनको मिति चैतमा नै निर्धारण भएको हो, असोजमा नै महाधिवेशन हुन्छ, कसैले चाहादैमा मिति परिवर्तन हुँदैन ।” उपसभापति शर्माले महाधिवेशनले गगन थापालाई सभापति निर्वाचित गर्ने उद्घोष गरे । महाधिवेशनको । महाधिवेशनको मितिलाई लिएर अलमलमा नपर्न र असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनमा सहभागी बन्न उनले नेता, कार्यकर्तालाई खुलेर निर्देशन दिए ।

गगन थापालाई पार्टी सभापति र भावी प्रधानमन्त्री बनाउने अभियानमा एकजुट र एकताबद्ध हुन उपसभापति शर्माले आव्हान समेत गरे । ” पार्टी सभापति गगन थापा नै बन्नुहुन्छ , प्रधानमन्त्री पनि उहाँलाई नै बनाएर देश बनाउनु छ ” उनले भने, ” जुझारु र स्पष्ट दृष्टिकोण भएको व्यक्ति सभापति र प्रधानमन्त्री बन्नु पर्छ, त्यसो भएमात्रै देश बन्छ । ” कसैको आलोचना नगर्ने स्वभावका शर्माले इतर पक्षका नेताहरूको रुखो आलोचना गरेनन् । उपसभापति शर्माले भने, ” पार्टीको महाधिवेशनमा छुटेका र हारेका व्यक्तिलाई समेटेर पार्टी चल्छ भन्ने दाउमा आदरणीय नेताहरूमा छ, उहाँहरुले गर्ने भनेको महाधिवेशनको समय हेर्दा पनि त्यस्तै लाग्छ, समय त्यही अनुसार तोक्नु भएको छ ।”

उपसभापति शर्माले गगन थापालाई सभापति निर्वाचित गरेपछि आफूहरू सबै नेतालाई भेट्न घरघरमा पुग्ने उनले बताए । उनले महाधिवेशन अगाडि नेताहरूलाई भेट्न नजाने घुमाउरो तर प्रभावशाली तर्क गरे । उनले कसैको पनि आलोचना नगर्न नेता, कार्यकर्तालाई सुझाए । कुनै अन्योल र अलमलमा नपरी महाधिवेशन जुट्न पटकपटक आग्रह गरेका शर्माले महाधिवेशनमा कोही पनि नछुट्ने र कसैलाई पनि नछुट्न भने । उनले असोजमा निर्धारित महाधिवेशनमा छुट्ने व्यक्ति सधैंका लागि छुट्ने दाबी समेत गरे ।

एकपटक केन्द्रमा पुगेपछि जुनीभर महाधिवेशन प्रतिनिधि हुने परम्परा यसपटकबाट तोडिएको उनको जिकिर छ । ” एकपटक केन्द्रमा पुगेपछि सधैंलाई हुने परम्पराको अन्त्य गरिएको छ, अब महाधिवेशन प्रतिनिधि हुन वडाबाटै छनोट हुनुपर्छ ” उनले भने, ” यो नियम गगन थापालाई पनि लाग्छ, विश्वप्रकाशलाई पनि त्यही नियम लाग्ने हो, मैले मेचीनगर – ९ बाटै प्रतिनिधि हुनुपर्छ ।” उपसभापति शर्माको वडा मेचीनगर नगरपालिका – ९ हो । उनले हिजो ८० वर्षको सभापति हुँदै गरेको पार्टीमा अहिले ५० वर्षको व्यक्ति सभापति भएको र त्यो नै परिवर्तनको थालनी भएको टिप्पणी गरे ।

पार्टी महाधिवेशन, त्यस विषयमा भइरहेका बहस र तर्क वितर्कमा खासै नअल्झेका उनले यसपटकको अधिवेशन खुल्ला मञ्चमा हुने र बन्द शर्त पनि त्यही गरिने उपसभापति शर्माले स्पष्ट पारे । उनले यसपटक महाधिवेशनमा तडकभडक नहुने बताए । भोटेकोसीमा आएको बाढी र त्यसले पुर्‍याएको अनपेक्षित जनधनको क्षतिबाट मुलुक दुखद र पीडादायी क्षणमा रहेकोले पार्टी महाधिवेशन सामान्य रूपमा गर्न लागेको उनले प्रष्ट्याए । यद्यपि, उनले महाधिवेशनका लागि हलहरुको व्यवस्था गरिएको बताए ।

झापा १ ले आयोजना गरेको सो कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धब थापा, केन्द्रीय सदस्य उमा शिवाकोटी, कोशी प्रदेश सदस्य विमल आचार्य, झापा सभापति देउअकुमार थेवे, उपसभापति केशवराज पाण्डे, क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी लगायतले बोलेका थिए ।

उनीहरूले चुनदेवीमा होइन, सानेपामा रहने कांग्रेस भएको बताए । विशेष महाधिवेशनबाट आएको नेतृत्व नै कांग्रेस भएको बताएका उनीहरूले रुख र चारतारे झण्डा जोसँग छ, त्यो मात्रै कांग्रेस भएको उनीहरूले जिकिर गरे । निर्वाचन आयोग र सर्बोच्च अदालतले वैधानिक ठहर गरिसकेको अवस्थामा पार्टी आधिकारिकताको किचलो सान्दर्भिक नभएको र चुनदेवीतिर अलमलिनुको अर्थ नहुने उनीहरूको निष्कर्ष छ ।

शेयर गर्नुहोस :

108
Shares