Banner news

बिर्तामोडमा बुनियाको मूल्य पसलैपिच्छे फरक, गुणस्तरमा ध्यान दिन आग्रह

बिर्तामोडमा बुनियाको मूल्य पसलैपिच्छे फरक, गुणस्तरमा ध्यान दिन आग्रह


बिर्तामोड । असोज १ गते विश्वकर्मा पूजा । विश्वकर्मा पूजामा सबैभन्दा धेरै उपभोग हुने प्रसादमा पर्छ, बुनिया । विश्वकर्मा पूजा अघि नै मिठाई व्यवसायीहरुले बुनिया तयार गर्दै आएका छन् । आज झापाको बिर्तामोड बजारमा मिठाई पसलहरुलाई बुनिया बनाउन भ्याइनभ्याई थियो ।

व्यवसायीहरु मात्र होइन, अन्य व्यवसायीहरुले समेत सडक आसपासमा बुनियाको व्यापार गरेको देखिएको छ । बजारमा बुनियाको मूल्य कति भनेर बुझ्दा पसलै पिच्छे फरक – फरक रहेको पाइयो । भद्रपुर रोडमा सिद्धार्थ बैक नजिकै खुला रुपमा बुनिया विक्री गरिरहेका एक व्यवसायीले प्रतिकेजी ५ सय रुपैयाँमा विक्री गरिरहेको जानकारी दिए । यस्तै, भद्रपुर रोडमै रहेको सनसाईन मेडिकल नजिकै सडकमा बुनिया विक्री गरिरहेका व्यवसायीले ४ सय रुपैयाँ प्रतिकेजीमा विक्री गरिरहेको बताए ।

अदुवा पुल नजिकै रहेको श्याम मिष्ठान्न भण्डारले रिफाइन तेलमा बनाएको बुनिया प्रतिकेजी ५ सय र घ्यूमा बनाएको बुनिया प्रति केजी ८ सय रुपैयाँ पर्ने जनाएको छ । उनीहरुले विश्वकर्मा पुजालाई लक्षित गरेर बुनिया बनाएको जानकारी दिए ।

यस्तै, बिर्तामोडकै मख्खन भोगले विश्वकर्मा पुजालाई लक्षित गरेर बुनियाको मूल्य घटाएको जनाएको छ । ८ सय रुपैयाँ प्रतिकेजी पर्ने घ्यूबाट बनाएको बुनियामा १ सय रुपैयाँ घटाइएको धिरज शर्माले जानकारी दिए । उनका अनुसार रिफाइनको तेलबाट बनाइने बुनियामा प्रतिकेजी ५० रुपैयाँ घटाइएको छ । घटाइएको मूल्य ४५० रुपैयाँ पर्ने शर्माको भनाई छ । उनले मख्खन भोगले स्वस्थ्यकर बुनिया उपभोक्ताका लागि तयार गरेको जानकारी दिए ।

बिर्तामोडमा रहेको संगम स्वीटले बुनिया प्रतिकेजी ११ सय र ६५० मा विक्री गरिरहेको जनाएको छ । शुद्ध घ्यूबाट बनाइने बुनियाँ प्रतिकेजी ११ सय र सनफ्लावर तेलबाट बनाइने बुनियालाई ६५० रुपैयाँ पर्ने जनाइएको छ । मिठाई व्यापारमा वर्षौ पुरानो संगम स्वीटले ग्राहकको स्वास्थ्यलाई मध्यजनर गरेर सबै प्रकारका मिठाई उत्पादन गर्दै आएको जनाएको छ । घ्यू पनि डब्बाको होइन, संगम स्वीटले पहाडको शुद्ध घ्यूबाट बुनिया बनाउने गरेको उनीहरुको दावी छ ।

सडकमा राखेर विक्री गरिने बुनिया स्वस्थ्यकर नहुने र रेडिमेट बुनियाबाट उपभोक्ताहरु सचेत हुनुपर्ने व्यवसायीहरुको भनाई छ । बुनिया डाल्डाबाट पनि बनाउने गरेको कतिपय व्यवसायीको दावी छ । डाल्डाबाट बनाइने बुनियाले उपभोक्ताको स्वास्थ्यमा समस्या हुन सक्ने उनीहरु बताउछन् । बुनिया खरिद गर्दा कस्तो तेलबाट बनाएको हो भन्ने कुरा बुझ्न व्यवसायीहरुले अपील गरेका छन् । बेसनबाट बनाउनुपर्ने बुनियामा मैदा समेत प्रयोग गरेर उपभोक्ताको आँखा छल्न सक्ने भएकाले सचेत भएर उपभोग गर्न आग्रह गरिएको छ ।

उपभोक्ता जागरण अभियान नेपाल झापाका अध्यक्ष शालिकराम भट्टराईले स्वस्थ्यकर बुनिया उपभोग गर्न नागरिकहरुले ध्यान दिनुपर्ने बताए । उनले धुँवाधुलोमा राखिएको भन्दा सुरक्षित हिसावले विक्रीका लागि राखिएको बुनियाको उपभोग गर्नुपर्ने बताएका छन् ।
विश्वकर्मा पुजा हरेक घरघर, व्यवसाय स्थलमा हुने गरेको छ ।

शेयर गर्नुहोस :

0
Shares