धनकुटा, १ असोजः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म ‘दुहुना गाई’ वितरण गरेको छ । नयाँ परिवारलाई गाउँको उत्पादनसँग जोड्ने र पशुपालनबाट आम्दानीको बाटो खोल्ने उदेश्यले यो अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
गाई दिएर मात्रै परिवारलाई गाउँमा टिकाउन नसकिने निष्कर्षमा पुगेपछि गाउँपालिकाले अब आफ्नो रणनीति फेर्ने भएको छ । ‘दुहुना गाई’ कार्यक्रम हटाएर बसाइँसराइ गरेर आउने परिवारका लागि ‘सुरक्षित आवास’ कार्यक्रम सुरु गरिएको छ ।
आर्थिक वर्ष २०७७/७८ देखि सुरु भएको दुहुना गाई कार्यक्रमअन्तर्गत पाँच वर्षमा ५० परिवारले लैनो गाई पाएका छन् । पहिलो वर्ष नौ परिवारलाई गाई दिइएको थियो । त्यसपछि क्रमशः आव २०७८/७९ मा १०, २०७९/८० मा १८, २०८०/८१ मा ४ र २०८१/८२ मा ३ परिवारलाई गाई वितरण गरिएको पशुपन्छी विकास शाखाका प्रमुख राजकुमार राईले बताउनुभयो ।

गाउँपालिकाले अन्य स्थानीय तह वा जिल्लाबाट बसाइँसराइ गरेर आउने परिवारलाई गाईमार्फत स्थानीय अर्थतन्त्रसँग जोड्ने प्रयास गरेको राईको भनाइ छ । दूध उत्पादनबाट आम्दानी गर्नसक्ने भएकाले नयाँ ठाउँमा बसोबास गर्न आउने परिवारलाई आर्थिक रुपमा सहज हुने अपेक्षा गाउँपालिकाको रहेको राईले बताउनुभयो ।
कार्यक्रमको प्रभाव अपेक्षाअनुसार नदेखिएपछि गाउँपालिकाले बसाइँसराइ गरेर आउने परिवारका लागि आम्दानीको स्रोतभन्दा पहिले स्थायी बसोबासको आधार आवश्यक रहेको बताएको छ । बसाइँसराइ गरेर आउने परिवारलाई घर निर्माणमा सहयोग गर्ने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले बताउनुभयो । ‘दुहुना गाई’ कार्यक्रमको विकल्पका रुपमा सुरक्षित आवासलाई अघि सार्न लागिएको उहाँले बताउनुभयो ।
त्यसो त गाउँपालिकाले बसाइँसराइ गरेर आउनेबित्तिकै गाई वितरण गर्दैनथ्यो । बसाइँसराइ गरेको तीन महिना पूरा भएपछि मात्रै प्रक्रिया अघि बढाउने गरिएको थियो । गाई लिन चाहने परिवारले गाउँपालिकामा निवेदनसँगै बसाइँसराइ दर्ता प्रमाणपत्र, जग्गाधनी प्रमाणपुर्जा, नागरिकताको प्रमाणित प्रतिलिपि र सम्बन्धित वडा कार्यालयको सिफारिस बुझाउनुपर्ने व्यवस्था रहेको थियो ।
कागजात प्राप्त भएपछि गाउँपालिकाले स्थलगत अनुगमन गरेर परिवारको वास्तविक अवस्था, बसोबास र आवश्यक अन्य पक्षको अध्ययन गर्ने गरेको थियो । अनुगमनमा योग्य ठहरिएका परिवारलाई मात्रै दुहुना गाई उपलब्ध गराउने गरेको थियो । आवश्यक कागजात तथा प्रक्रिया पूरा गर्न नसक्दा भने केही इच्छुक परिवार कार्यक्रमबाट वञ्चित भएको पशुपन्छी विकास शाखाका प्रमुख राईले बताउनुभयो ।
छथर जोरपाटीमा बसाइँसराइ गरेर आउने परिवारमध्ये सबैभन्दा धेरै तेह्रथुमका रहेको गाउँपालिकाले जनाएको छ । छथर क्षेत्रसँग भौगोलिक र सामाजिक सम्बन्ध नजिक रहेकाले तेह्रथुमबाट आउने परिवारको सङ्ख्या बढी रहेको गाउँपालिकाले जनाएको छ ।
तेह्रथुमसँगै धनकुटाकै अन्य स्थानीय तह, भोजपुर, सङ्खुवासभा र झापाबाट परिवार छथर जोरपाटीमा बसाइँसराइ गरेर आएको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ । गाउँमा नयाँ परिवार भित्र्याउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमले बसाइँसराइ गरेर आउने परिवारलाई स्थानीय तहको सेवासुविधासँग जोड्ने प्रयास गरेको गाउँपालिका अध्यक्ष सुब्बाले बताउनुभयो ।
गाईबाट सुरक्षित आवासतर्फ
पाँच वर्षको अनुभवपछि छथर जोरपाटीले बसाइँसराइ व्यवस्थापनको आफ्नो प्राथमिकता परिवर्तन गर्न लागेको जनाएको छ ।
यसअघि गाउँमा आउने परिवारलाई ‘उत्पादनसँग जोड्ने’ नीति लिइएको थियो । त्यसका लागि दुहुना गाई वितरण गरियो । अब भने ‘सुरक्षित बसोबासको आधार तयार गर्ने’ नीतितर्फ गाउँपालिका अघि बढ्ने भएको अध्यक्ष सुब्बाले बताउनुभयो । उहाँका अनुसार दीर्घकालीन रुपमा परिवारलाई गाउँमा टिकाउन आयआर्जनसँगै स्थायी र सुरक्षित आवासको आवश्यकता देखिएको छ । त्यसैले अब बसाइँसराइ गरेर आउने परिवारका लागि घर निर्माणमा सहयोग गर्ने कार्यक्रमलाई प्राथमिकता दिन लागिएको हो ।








प्रतिक्रिया