बिर्तामोड – पूर्वेली ढुवानी सेवा प्रालि बिर्तामोडले विश्वकर्मा पूजाको अवसरमा उत्कृष्ट चालक तथा ढुवानी व्यवसायमा लामो समयदेखि योगदान पुर्याउँदै आएका व्यक्तित्वलाई सम्मान गरेको छ । कम्पनीले बोनम्यारोको समस्याबाट पीडित १० वर्षीय बालकको उपचारमा समेत आर्थिक सहयोग गरेको छ ।

कम्पनीले हिलिहाङ गाउँपालिका-२, पाँचथरका नरेश मगरलाई उत्कृष्ट चालकका रूपमा नगद ३१ हजार रुपैयाँ र सोही स्थानका सुवास प्रसाईंलाई २१ हजार रुपैयाँसहित सम्मान गरेको हो ।
बिर्तामोड नगरपालिका-५ का तेजप्रसाद कडरियालाई चालक तथा ढुवानी व्यवसायमा लामो समयदेखि पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ । सहचालक सुजन हेम्वियालाई पनि नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको कम्पनीले जनाएको छ । अब हरेक महिना उत्कृष्ट चालकलाई सम्मान गर्ने अध्यक्ष निर्मलराज खत्रीले बताए ।
विश्वकर्मा पूजाको अवसरमा आयोजित कार्यक्रममा बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपाने, प्रहरी नायव निरीक्षक दिनेश खत्री, प्रेस काउन्सिलका पूर्व सदस्य गणेश पोखरेल, मेची ट्रान्सपोर्ट एशोसिएसनका उपाध्यक्ष देवराज तामाङ, सचिव पदम श्रेष्ठ र नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले बोलेका थिए ।
कम्पनीले बिर्तामोड नगरपालिका-६ का बोनम्यारो समस्याबाट पीडित १० वर्षीय साइमन हस्दाको उपचारका लागि ११ हजार रुपैयाँ सहयोग गरेको छ । मानवीय सेवाको भावनासहित बालकको उपचारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीका अध्यक्ष खत्रीले बताए ।
पूर्वेली ढुवानी सेवा पूर्वी नेपाललाई आधार क्षेत्र बनाएर देशभर मालवाहक ढुवानी सेवा प्रदान गर्दै आएको कम्पनी हो । कम्पनीका ४० भन्दाबढी मालवाहक ट्रक सञ्चालनमा छन् भने चालक, सहचालक तथा कर्मचारी गरी करिब १०० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।
कम्पनीले कार्यरत चालक, सहचालक तथा कर्मचारीको आकस्मिक स्वास्थ्य उपचार र आपत्कालीन आवश्यकतामा सहयोग पुर्याउन स्टाफ इमर्जेन्सी फण्ड सञ्चालनमा ल्याउने तयारी समेत गरेको छ ।
अध्यक्ष खत्रीका अनुसार कर्मचारीको सुरक्षा, कल्याण तथा आपत्कालीन अवस्थामा सहयोग गर्ने उद्देश्यले फण्ड सञ्चालन गर्न लागिएको हो ।

कार्यक्रममा कम्पनीका अध्यक्ष खत्रीले चालक तथा कर्मचारीको योगदानको सम्मान गर्दै आगामी दिनमा सुरक्षित, विश्वसनीय र प्रभावकारी ढुवानी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।








प्रतिक्रिया