काठमाडौं । नेकपा एमालेले संविधान दिवस विभिन्न रचनात्मक कार्यक्रमसहित मनाउन मातहतका सबै कमिटीलाई निर्देशन दिएको छ ।
एमाले महासचिव शंकर पोखरेलले बिहीबार प्रदेश, जिल्ला तथा पालिका कमिटीलाई पत्राचार गर्दै असोज ३ गते विगतका वर्षमा झैँ यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गर्न निर्देशन दिएका हुन् । उनले कार्यक्रमलाई रचनात्मक, भव्य र उत्साहपूर्ण बनाउन भनेका छन् ।
महासचिव पोखरेलले संविधानको रक्षाको सन्देश प्रवाह हुने गरी आ-आफ्नो क्षेत्र र स्तरमा प्रभातफेरी, दीपप्रज्वलन, विचार गोष्ठी, सरसफाइलगायत रचनात्मक कार्यक्रम आयोजना गर्न पत्राचार गरेका छन् ।
एमालेको पत्रमा भनिएको छ, ‘आ-आफ्नो क्षेत्र र स्तरमा संविधानको रक्षाको सन्देशसहित प्रभातफेरी, दीपप्रज्वलन, विचार गोष्ठी, सरसफाइ तथा अन्य रचनात्मक कार्यक्रमहरूको आयोजना गरी संविधान दिवसलाई सफल बनाउनुहुन अनुरोध छ ।’
एमालेले संविधान दिवसलाई राष्ट्रिय महत्त्वका साथ मनाउँदै संविधानको संरक्षण र कार्यान्वयनप्रति पार्टीको प्रतिबद्धता जनाउन मातहतका कमिटीलाई आह्वान गरेको हो।








प्रतिक्रिया