आर्थिक

प्रधानमन्त्री राहत कोषमा हाम्रो नेपाल साकोसको २ लाखभन्दा बढी सहयोग

प्रधानमन्त्री राहत कोषमा हाम्रो नेपाल साकोसको २ लाखभन्दा बढी सहयोग


बिर्तामोड – झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भोटेकोशी बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख १० हजार २९३ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लाका तटीय क्षेत्रमा भएको जनधनको क्षतिको घाउमा मलम लगाउने उद्देश्यले संस्थाले उक्त सहयोग गरेको हो।

संस्थाका कार्यवाहक अध्यक्ष राजेन्द्र गौतमसहितको टोलीले बिहीबार झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको छ।

चेक ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले विपद्को घडीमा नागरिकको उद्धार र पुनर्स्थापनाका लागि सहकारी क्षेत्रबाट भएको यो सहयोग अत्यन्तै अनुकरणीय रहेको बताए। उनले हाम्रो नेपाल साकोसको यस कार्यले अन्य संघसंस्थालाई पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे।

सहकारी क्षेत्रलाई विशुद्ध आर्थिक कारोबारमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वमा पनि अब्बल साबित गर्न संस्थाका सञ्चालक र कर्मचारीहरू स्वतःस्फूर्त रूपमा अघि सरेका हुन्। संस्थाका सञ्चालक समिति सदस्य कृष्णप्रसाद पोखरेलका अनुसार, संस्थाको तर्फबाट ५० हजार रुपैयाँ र बाँकी रकम सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरूको एक दिनको बैठक भत्ता एवं सम्पूर्ण कर्मचारीहरूको व्यक्तिगत योगदानबाट संकलन गरिएको हो।

“सहकारी भनेकै समाजको सुखदुःखको साथी हो। अहिले देश महाविपत्तिबाट गुज्रिरहेका बेला हामी मूकदर्शक बन्न सक्दैनथ्यौँ,” सञ्चालक सदस्य पोखरेलले भने, “रकमको अङ्कभन्दा पनि विपद्मा परेका दाजुभाइ दिदीबहिनीप्रतिको हाम्रो ऐक्यबद्धता र भावना महत्त्वपूर्ण हो। हाम्रो यो सानो प्रयासले प्रभावित नागरिकको घाउमा थोरै भए पनि मलम पुग्ने विश्वास लिएका छौँ।”

हाम्रो नेपाल साकोसले आफ्नो स्थापनाकालदेखि नै व्यावसायिक सफलतासँगै संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) लाई उच्च प्राथमिकतामा राख्दै आएको छ। शिक्षा, स्वास्थ्य र प्राकृतिक प्रकोपका समयमा संस्थाले अग्रपङ्क्तिमा रहेर समुदायलाई सहयोग गर्दै आएको छ।

जिल्ला प्रशासन कार्यालय झापामा भएको चेक हस्तान्तरण कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्यहरू कृष्णप्रसाद पोखरेल, भगिरथ आले, तुलसीराम गौतम तथा लेखा सुपरिवेक्षण समिति सदस्य श्रीप्रसाद न्यौपानेलगायतको उपस्थिति थियो ।

शेयर गर्नुहोस :

675
Shares