मुख्य समाचार

कांग्रेसको एकताले नै देश निर्माण र समृद्धिको आधार तय हुन्छ – सभापति थापा

कांग्रेसको एकताले नै देश निर्माण र समृद्धिको आधार तय हुन्छ – सभापति थापा


बिर्तामोड १ असोज । नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्वव थापाले नेपाली कांग्रेसको एकताले नै देश निर्माण र समृद्धिको आधार तय हुने बताउनुभएको छ ।

नेपाली कांग्रेसको १५ औं महाधिवेशनका सन्दर्भका नेपाली कांग्रेस झापाको आयोजनामा जिल्ला पार्टी कार्यालयमा सम्पन्न विस्तारित बैठकलाई सम्बोधन गर्दै सभापति थापाले १५ औं महाधिवेशन एकताको महाधिवेशन हुने विश्वास ब्यक्त गर्नुभयो ।
कांग्रेसको इतर पक्षलाई पनि असोज ३ गतेको वडा अधिवेशनमा सहभागी हुन आह्वान गर्दै सभापति थापाले वी.पी. विचार, चारतारे झण्डा र चुनाव चिन्ह रुख सानेपा कांग्रेससँगै रहेको स्मरण गराउनुभयो । लोकतन्त्रमा निर्वाचन महत्वपूर्ण भएको बताउँदै उहाँले देशको परिस्थिति र राजनीतिक जटिलतालाई बुझेर सहमति, सहकार्य र एकताको वातावरणमा महाधिवेशन सम्पन्न गर्न सबै तहका नेत-कार्यकर्तालाई आह्वान गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य उमा शिवाकोटीले निर्धारित समयमै पार्टीको १५ औ महाधिवेशन सम्पन्न हुने बताउँदै सर्वसम्मत रुपमा एकताको महाधिवेशन सम्पन्न गर्न सवै तहका नेताकार्यकर्तालाई आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस झापाका पूर्व सचिव एवं पूर्व मन्त्री वीरमणी ढकालले १५ औं महाधिवेशन नेपाली कांग्रेसका लागि ठूलो परीक्षाको घडी भएको बताउँदै रुपान्तरित कांग्रेसलाई एकजुट गराउनु प्रमुख चुनौति रहेको बताउनुभयो ।

१५ औं महाधिवेशन अन्तर्गत झापाका लागि निर्वाचन अधिकृत दिब्यराज घिमिरेले सहभागीहरुको जिज्ञाशाको जवाफ दिदै यसपटक चुनावी प्रतिनिधित्वको क्लस्टर फेरिएको र फराकिलो भएको बताउनुभयो । १५ औं महाधिवेशन सफल बनाउन सवैलाई आह्वान गर्दै निर्वाचन अधिकृत घिमिरेले क्रियाशिल सदस्यको नामावली र अन्तिम निर्देशिका शुक्रबार प्राप्त हुने जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले वडातहदेखि केन्द्रीय तहसम्मको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन आग्रह गर्दै सहमति, सहकार्य र एकतामा मात्रै पार्टी संगठन मजबुद हुने धारणा राख्नुभयो । नेपाली कांग्रेस झापाका सचिव नवीन विमली र कमल भण्डारीले सहजीकरण गर्नुभएको विस्तारित बैठकमा नेपाली कांग्रेस केन्द्रीय सदस्य, कोशी प्रदेश समितिका पदाधिकारी, सदस्य, जिल्ला समितिका पदाधिकारी सदस्य, क्षेत्र, प्रदेशसभा क्षेत्र, गाउँ-नगर समितिका सभापतिहरुको सहभागिता रहेको थियो ।

बैठकले पार्टीको १५ औं महाधिवेशन अन्तरगत वडा अधिवेशनका लागि झापाका १३१ वटै वडामा निर्वाचन अधिकृत तय गरेको छ । वडामा तोकिएका निर्वाचन अधिकृतहरुलाई शुक्रबार ११ बजे जिल्ला पार्टी कार्यालयमा प्रशिक्षण दिएर अत्यावश्यक निर्वाचन सामग्रीसहित जिम्मेवारी दिई निर्वाचन सम्पन्न गर्न वडामा खटाउने निर्णय गरेको छ ।

शेयर गर्नुहोस :

108
Shares