पर्यटन

पर्यटन प्रवर्द्धन गर्न नेपाल र भारतका व्यवसायीबीच सम्झौता

पर्यटन प्रवर्द्धन गर्न नेपाल र भारतका व्यवसायीबीच सम्झौता


१ असोज, मदारीहाट (भारत) : नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दुई देशका व्यवसायीबीच महत्वपूर्ण सहमति भएको छ। ट्राभल मञ्च झापा र इष्ट्रन डुवर्स टुरिजम डेभलपमेन्ट एशोसिएशनबीच सात बुँदे सम्झदारीपत्रमा हस्ताक्षर भएको हो। भारतको पश्चिम बंगालस्थित जलदापाडा नेश्नल पार्कमा आयोजित ‘कुरा पर्यटन’ नामक इण्डो—नेपाल टुरिजम मिटको अवसरमा यो ऐतिहासिक सम्झौता सम्पन्न भएको हो।

नेपालतर्फबाट ट्राभल मञ्चका अध्यक्ष उदयकुमार श्रेष्ठ र सचिव नवराज खरेल तथा भारततर्फबाट इष्ट्रन डुवर्स टुरिजम डेभलपमेन्ट एशोसिएशनका अध्यक्ष गोपाल सन्यासी र सचिव विश्वजीत साहाले यस सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडा र भारतका केन्द्रीय सांसद मनोज तिग्गाको रोहवरमा भएको यो सहकार्यले दुवै देशबीच पर्यटकको आगमन बढाउन र व्यावसायिक नेटवर्कमार्फत सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

सम्झौताअनुसार आगामी दिनमा संयुक्त रूपमा पर्यटन कार्यक्रमहरूको आयोजना गरिनेछ भने दुवैतर्फका प्रतिनिधिहरू रहने गरी ३ देखि ५ सदस्यीय बोर्ड गठन गरिनेछ। यसले विशेष गरी कोशी प्रदेशका ऐतिहासिक, प्राकृतिक र धार्मिक क्षेत्रहरूको प्रचारप्रसारमा टेवा पुर्याउने र नेपाल आउने भारतीय पर्यटक तथा भारतको बाटो भएर आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने विश्वास गरिएको छ। कार्यक्रमको उद्घाटन सत्रमा सांसद तिग्गाले अलिपुरद्वार, कूचबिहार, जलपाईगुडी र शिलिगुढीलाई समेटेर सर्किट पर्यटन योजनाको तयारी भइरहेको जानकारी दिए। साथै, पर्यटन कार्यालय प्रमुख खतिवडाले देशको दिगो आर्थिक विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्रबीचको समन्वय तथा पर्यटकीय पूर्वाधारको विकास अपरिहार्य रहेकोमा जोड दिए।

उद्घाटन तथा सम्मेलनको अवसरमा नेपाल, भारत र भुटानका सञ्चारकर्मी, व्यवसायी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको समापनका क्रममा कूचबिहार क्षेत्रका ऐतिहासिक तथा धार्मिक स्थलहरूको स्थलगत अवलोकन गरिनुका साथै झापा साइक्लिङ क्लबका अध्यक्ष आकाश श्रेष्ठको नेतृत्वमा नेपाल र भारतका राइडरहरूले ६ किलोमिटर साइक्लिङ समेत सम्पन्न गरेका थिए।

शेयर गर्नुहोस :

108
Shares