बिर्तामोड । आमरण अनसर सुरु गरेको दोस्रो दिनमै जेनजी घाइते विवेक दनुवार अस्पताल भर्ना भएका छन् । अर्जुनधारा –६ झापाका घाइते दनुवारले बुधबारबाट आमरण अनसन सुरु गरेका थिए ।
अनसनका क्रममा श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आज दिउँसो बिर्तामोडस्थित विएण्डसी अस्पताल भर्ना गरिएको छ । उनका सहयोगी मनोज कडरियाले बताए अनुसार दनुवारको स्वास्थ्यमा सामान्य सुधार आएको छ । विएण्डसीमा डाक्टरको निगरानीमा रहेका दनुवार स्वास्थ्यमा सुधार हुनासाथ सडकमा आउने कडरियाले जानकारी दिए । जेनजी घाइते दनुवारको पेटमा गोली लागेको थियो । गोली लागेका घाइते दनुवारले विभिन्न माग राख्दै आमरण अनसन सुरु गरेका हुन् ।

आज साँझ झापाका सहायक प्रमुख जिल्ला अधिकारी भुमेश्वर पोखरेलको नेतृत्वमा आएको टोलीले अनसन बसेका दनुवारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ । पोखरेलले आधिकारिक रुपमा अनसन बसेको विषय प्रशासनलाई जानकारी दिन भनेको कडरियाले जानकारी दिए ।
आमरण अनसर बनेको मान्छेलाई स्वास्थ्य समस्या भयो भन्दै अस्पताल लैजाने कुरा कति व्यवहारिक छ भन्ने जिज्ञासामा जवाफ दिदैं जेनजी युवा कडरियाले भने – मान्छेको जीवनभन्दा अरु ठुलो कुरा केही छैन । अहिले पनि अनसन तोडिएको छैन । राज्य प्रशासनको उपस्थिति सडकमै हुन्छ भन्ने लागेको थियो, हुन नसकेपछि आफै अस्पताल लिएर आयौं ।
घाइतेहरूलाई निःशुल्क गुणस्तरीय उपचारको व्यवस्था गर्नुपर्ने, हालसम्मको उपचारमा लागेको सम्पूर्ण खर्च राज्यले बेहोर्नु साथै घाइतेहरूको लागि उचित क्षतिपूर्ति तथा जीवनयापनको व्यवस्था गर्नुपर्ने उनको माग छ ।
आमरण अनसनमा घाइते वा घाइतेका परिवार र सहिद परिवारको लागि निःशुल्क शिक्षा प्रदान गर्नुपर्ने, सार्वजनिक यातायातमा घाइतेहरूको लागि विशेष छुटको व्यवस्थापन गर्नुपर्ने, घाइते तथा सहिद परिवारको सम्बोधन गर्न विशेष कानुन निर्माण गर्नुपर्ने माग राखिएको छ ।
सरकारले उनीहरुको माग सम्बोधन नगरेसम्म अनसन जारी रहने जेनजी घाइते दनुवारको भनाई उद्धृत गर्दै कडरियाले जानकारी दिए । जेनजीहरुकै योगदानबाट सरकारमा पुग्नेहरुले घाइतेहरुको माग छिटोभन्दा छिटो पूरा गर्नुपर्ने उनको धारणा छ । घाइतेहरु उपचार र अन्य आधारभूत आवश्यकताको अभावमा छटपटाइरहेका छन् ।
दनुवारको उपचारका लागि विएण्डसी अस्पतालले यसअघि पनि सहयोग गरेको थियो ।








प्रतिक्रिया