झापा । जापानी इन्सेफलाइटिस (JE) संक्रमणका कारण नेपालमा संक्रमण र मृत्यु बढिरहेका बेला झापाको शिवसताक्षी नगरपालिकाले ३० वर्ष वा सोभन्दा माथिका नागरिकलाई लक्षित गरी जेई खोप अभियान सञ्चालन गर्ने भएको छ।
नगरपालिकाले आगामी आश्विन ५ गतेदेखि १४ गतेसम्म नगरका ११ वटै वडामा अभियान सञ्चालन गर्न लागेको हो। खोप अभियानका लागि नगरपालिकाभरि ६३ वटा खोप केन्द्र तोकिएको शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ।

अभियानमा २३३ जना स्वास्थ्यकर्मी, ३०३ जना स्वयंसेवक र ४० जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने नगरपालिकाका जनस्वास्थ्य अधिकृत सारङ्गा तामाङले जानकारी दिइन्। खोप कार्यक्रम बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने जनाइएको छ।
नगरपालिकाले तोकिएको उमेर समूहका ३६ हजार ५२५ जना नागरिकलाई जेई खोप लगाउने लक्ष्य लिएको छ।
खोप अभियानलाई प्रभावकारी बनाउन नगरका ११ वटै वडाका खोप समन्वय समिति, महिला स्वास्थ्य स्वयंसेविका, ५८ वटा विद्यालयका प्रधानाध्यापक, पालिका समन्वय समिति तथा अन्य सरोकारवालालाई अभिमुखीकरण गराइसकिएको नगरका स्वास्थ्यकर्मी रोषन अधिकारीले जानकारी दिए।
के हो जेई ?
जेई अर्थात् Japanese Encephalitis (जापानी इन्सेफलाइटिस) लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरसजन्य रोग हो। संक्रमित लामखुट्टेले टोकेपछि भाइरस शरीरमा प्रवेश गरी मस्तिष्क तथा स्नायु प्रणालीमा संक्रमण गराउन सक्छ।
विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार धेरै संक्रमितमा कुनै लक्षण नदेखिन पनि सक्छ वा सामान्य ज्वरो तथा टाउको दुख्ने समस्या मात्र हुन सक्छ। तर गम्भीर अवस्थामा उच्च ज्वरो, टाउको दुखाइ, घाँटी कडा हुने, चेतनामा परिवर्तन, झट्का आउने, पक्षाघात तथा कोमाजस्ता समस्या देखिन सक्छन्। गम्भीर जेई भएका बिरामीमध्ये ३० प्रतिशतसम्मको मृत्यु हुन सक्ने र बाँचेकामध्ये ३० देखि ५० प्रतिशतमा दीर्घकालीन स्नायु तथा मानसिक समस्या रहन सक्ने WHO ले जनाएको छ।
जेईको संक्रमण भएपछि भाइरसलाई नै लक्षित गर्ने विशेष औषधि उपचार उपलब्ध छैन। गम्भीर बिरामीलाई अस्पतालमा लक्षणअनुसार उपचार र सहयोगी उपचार गरिन्छ। त्यसैले जेईबाट बच्ने सबैभन्दा प्रभावकारी उपायमध्ये खोप प्रमुख हो।
नेपालमा किन ३० वर्षमाथिकालाई खोप ?
नेपालमा विगतमा जेईबाट प्रभावित हुनेमा बालबालिकाको संख्या बढी थियो। सोही कारण नियमित खोप कार्यक्रम पनि मुख्यतः बालबालिकालाई लक्षित रहँदै आएको छ। तर पछिल्ला वर्षमा जेई संक्रमणको स्वरूप परिवर्तन हुँदै ३० वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिमा गम्भीर संक्रमण र मृत्यु बढेको स्वास्थ्य अधिकारी तथा खोप विज्ञहरूले बताएका छन्।
नेपालमा सन् २००६ देखि जेईविरुद्ध खोप अभियान सुरु गरिएको थियो भने पछि यसलाई नियमित खोप कार्यक्रममा समावेश गरिएको हो। खोप कार्यक्रम विस्तार भएपछि बालबालिकामा जेईको जोखिम तथा गम्भीरता घटाउन ठूलो सहयोग पुगेको WHO को नेपालसम्बन्धी प्रतिवेदनमा उल्लेख छ।
तर पहिले नियमित खोपको पहुँचमा नपरेका धेरै वयस्कमा जेईविरुद्ध प्रतिरोधात्मक क्षमता नहुन सक्ने भएकाले अहिले वयस्क लक्षित अभियान सञ्चालन गर्नुपरेको स्वास्थ्य विज्ञहरूको भनाइ छ।
यस वर्ष जेईबाट नेपालमा २६ जनाको मृत्यु
नेपालमा पछिल्लो समय जेई संक्रमण गम्भीर बन्दै गएको छ। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयको तथ्यांक उद्धृत गर्दै प्रकाशित पछिल्लो विवरणअनुसार यस वर्ष असार दोस्रो सातादेखि हालसम्म १२१ जनामा जेई संक्रमण पुष्टि भएको छ भने २६ जनाको मृत्यु भएको छ। यसअनुसार मृत्युदर २१ प्रतिशतभन्दा बढी देखिन्छ। संक्रमण देशका सातै प्रदेशमा फैलिएको र ३६ जिल्लाका ८४ स्थानीय तहमा देखिएको जनाइएको छ।
झापा जेई संक्रमणका कारण बढी प्रभावित जिल्लामध्ये परेको छ। पछिल्लो विवरणअनुसार यस वर्ष झापामा मात्रै कम्तीमा ६ जनाको जेई संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमध्ये ठूलो हिस्सा ५० वर्षभन्दा माथिका र जेई खोप नलगाएका व्यक्ति रहेको सरकारी तथ्यांक उद्धृत गरिएको छ। झापामा जापानी इन्सेफलाइटिस संक्रमणबाट १२ जना विरामी परेका थिए भने जसमध्ये ६ जनाको मृत्यु भइसकेको छ ।








प्रतिक्रिया